सोमवार, पुस १५, २०८१
सोमवार, पुस १५, २०८१
  • होमपेज
  • देश
  • छायाँनाथको पौराणीक इतिहास र महत्व

छायाँनाथको पौराणीक इतिहास र महत्व

  • आइतवार, बैशाख १६, २०८१
छायाँनाथको पौराणीक इतिहास र महत्व

 

 

कर्णाली प्रदेशको मुगु जिल्लाको पूर्वी क्षेत्रमा साविक डोल्फु गा. वि. स. हाल मुगुम कार्मारोङ गाउँपालिका–१ मा पर्ने छायाँनाथ धाम पुस्तौ देखि नै दुई धर्मावलम्बीहरुको संगम हो । छायाँनाथको स्थापना त्यसको धार्मिक तथा पौराणिक महत्वका वारेमा हिन्दु र बौद्द धर्मावलम्बीहरुको आ–आफ्ना विश्लेषण र तर्क रहेका छन । मुगु जिल्लाको सदरमुकाम गमगढी देखि ३ तीन दिनको पैदल यात्रामा पुगिने छायाँनाथ धाम समुन्द्री सतहबाट ४८२० मिटरमा अवस्थित छ ।
यसलाई हिन्दु र बौद्द धर्मावलम्बीहरुको साझा संगम स्थलको रुपमा पुजिन्छ । हिन्दु धर्मावलम्बीका मुख्य चारधाम छायाँनाथ, पशुपतिनाथ, बद्रिनाथ, केदारनाथ मध्ये छायाँनाथ लाई जेठो (पहिलो) धाम मानिन्छ । बौद्द धर्मावलम्बीहरुले यसलाई एब्लाङका नामले पुजापाठ गर्ने गरेका छन । भने हिन्दुहरुले छायाँनाथ एंव छायाँ क्षेत्रका रुपमा चिन्छन् । यसको अर्को स्वरुप मानसरोवर पनि हो ।छायाँनाथबाट रारा ताल हेर्न सकिन्छ भने कान्जिरोवा , सिस्ने लगायतका हिमालहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।
किवदन्ती अनुसार महादेवले सतिदेविको मृत शरिर रारा तालको बाटो हुँदै यस स्थानमा पुग्दा सतिदेविको अन्तिम अंगको पतन भएको भनाई छ । रारा तालको सुन्दर दृश्य छायाँनाथ बाट देखिने त्यसै गरी रारा तालबाट छायाँनाथको अवलोकन गर्न सकिन्छ । रारा ताल र छायाँनाथ अन्तसम्बन्ध पनि छ रारा ताल ढल्किन खोज्दा ठाकुरज्यूले ढुंगामा लात्ती प्रहार गरेर रारा ढल्किन जोगाई मानव बस्ती जोगाई दिएको बिश्वास गरिन्छ । त्यसै गरि बौद्द धर्मावलम्वीहरुले अवलोकेश्वर महादेवका रुपमा पुजा गर्छन । छायाँनाथमा हरेक वर्ष सुदुरपश्चिम, मध्यपश्मि लगायत देशका विभिन्न स्थानबाट हिन्दु तथा बौद्द धर्मावलम्वीहरु पुग्ने गरेका छन ।।छायाँनाथ धाम हिन्दु र बौद्द धर्मावलम्वीका आ –आफ्ना परम्परा र सँस्कृति रहेका छन् । छायाँनाथ जाँदा बाटोमा पर्ने सबै बस्तीहरु बौद्द धर्मावलम्बीका छन् ।उनीहरुका रहन, सहन , कलासँस्कृति फरक शैलीका छन् । खानपान अतिथि सत्कार खेतीपाती पनि फरक छन् ।छायाँनाथ जति सुन्दर धार्मिक महत्व बोकेको क्षेत्र भएपनि त्यसको विकासका लागि पर्यटन प्रवर्धनका लागि खासै राज्य बाट पहल भएको देखिदैन

छायाँनाथ सम्बन्धमा बौध धर्मावलम्बीहरुका तर्क र मान्यता
बौध धर्मावलम्बीहरुका तर्क र भेटिएका केही पुराना लिखत अनुसार छायाँनाथ क्षेत्रमा ८ औ शताब्दीताका गुरु पदमा सम्भव तिब्बतका राजा टेसाङ देचुङको निमन्त्रणमा काठमाण्डौंको फर्पिङबाट तिब्बत गएको भनाई छ ।तिब्बतमा सामूहिक गुम्बा निर्माण भईसके पछि गुफा बस्ने बेलामा देवीहरुले सेलोबोकाङ , पुङिकाङ, ईपाङकाङ युहिकाङ हिमालहरु घुम्न जान आग्रह गरेपछि उनि छायाँनाथ एब्लाङ पुगेको बुढापाका बताउछन । त्यतिबेला छायाँनाथ आसपासका मानव वस्तीहरु सम्रग त्यस क्षेत्रको रक्षाको लागि हालको मुगुम कार्मारोङ गाउँपालिका–४ किम्रीको युरोकाङ भन्ने हिमालमा बसिरहेको वनदेवताका धामीसँग भेटघाट गरि समग्र त्यस क्षेत्रका मानव ,पशु पंक्षि , जीव जनावरको हत्या वली नगर्नू भनि गएको किवदन्ती छ ।
पुनः १२ औ शताब्दीमा गुरु पदमा सम्भवकै अवतारमा कुटुप सिङमे हिस्से डोल्पाको सिरेवो हालको क्रिस्टल हिमाल गुफामा ध्यान गर्न ९ वर्ष सम्म बसेको कथन छ । ध्यान गर्न बसेको ५ वर्ष पुगेको वेला हिस्से गुफा बाट निस्केर हिमालको चुचुरोमा घुम्न जाँदा हिमालमा हालको छायाँनाथको पूर्वी दिशामा रहेको हिमालका ३ वटा चुचुरा माथि अवलोकेश्वर , सेतो बीचमा सुन्तला रंगको मन्जुश्रीको दायाँ र निलो रंगको बज्रवाणीको मूर्ती बायाँ तर्फ टल्किरहेको देखिएपछि हिस्से सिंहमा चढेर देखिएको स्थानमा पुग्दा मूर्ती जुन हिमालको टुप्पोमा थियो त्यही नै विलय भएको भन्ने बौध धर्मका अभियन्ताको टिप्पणी छ ।हिमालको टुप्पोमा देखिएका मूर्तीहरु हिमालमै विलय पश्चात हिमालकै फेदमा समथल भू–भागमा चम्किलो सिसाको अर्कौ चैत्य देखिएकाले त्यसको लगतै त्यहाँ पुगेर छायाँनाथ एंव एब्लाङको नामाकरण गरेको भनाई छ । त्यति वेला एब भनेको आकार लाङ भनेको हात्ती भन्ने अर्थ लगाइएको मानिन्छ । छायाँनाथ रहेको स्थान हात्तीको टाउँको र छायाँनाथ देखि हिमाल चुचुरा हुँदै अहिलेको तिहार गुम्बाको सम्मको क्षेत्र हात्तीको शुडँ जस्तो देखिएकाले हात्तीको आकार अर्थात एब्लाङ नाम रहेको स्थानीयको भनाई छ ।
१८ औ शताब्दीमा आएर च्याङ सिङे लामाले छायाँनाथमा लामो समय बसेर त्यहीको माटोमा आफूलाई समाधिस्थल गरेको भनाई पनि छ । उनले लेखेको हस्तलेखित आत्मबृतान्तमा उक्त कुरा उल्लेख छ ।बौध मार्गीहरुले एब्लाङ र हिन्दुहरुले शिव भगवानका रुपमा पुजापाठ गर्ने गरेका छन । अवलोकेश्वर वीचको सेतो चाँही जव अवलोकेश्वर वाट हो भन्ने हिन्दुहरुबाट शिबजी मान्ने बौध धर्मग्रन्थमा शिवजी र अवलोकेश्वर एउटै हो भन्ने पाइन्छ ।हरेक १२ वर्षमा बाँदर वर्षका रुपमा बौद्द मार्गीहरु छायाँनाथको जन्म वर्ष मनाउने गर्दछन । यो समयमा परम्परागत पोशाक लगाएर बुढापाका देखि तन्नेरी युवा छायाँनाथमा जाने गर्दछन ।
छायाँनाथ सम्बन्धमा हिन्दु धर्मावलम्बीहरुका तर्क र मान्यता ः
धार्मिक ग्रन्थमा अनुसार महादेवले सतिदेवीको मृत शरिरलाई बोकेर डुल्दै जाँदा सतिदेवीको अन्तिम शेष पतन क्रममा भएको स्थान नै छायाँनाथ धाम हुन पुगेकाले हिन्दुहरुको पवित्र धाम मानिदै आएको छ । यसरी सतिको मृत देह गलेर पतन हुने क्रममा छायाँ क्षेत्र नामक स्थानमा बाँकीको सबै अङ गहरु पतन भए भन्ने कुरा पनि सोही स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ । भगवान शिवले सतिदेवीका मृत शरिर बोकेर हिँडेका बेलामा सतिदेवीका अङगहरु संसारका विभिन्न ठाउँहरुमा पतन भएको थिए अथवा खसेका थिए । जुन ठाउँमा सतिकाअंग पतन भए त्यस ठाउँमा एक एक वटा देवी, योगिनी र महादेव उत्पन्न भएर शिवशक्ति स्वरुपले रहेका छन् । सतिदेवीका अंगहरु पतन भएर सात करोड पचा“स लाख शक्तिपीठहरु उत्पन्न भएका छन् । स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छायाँक्षेत्र यही छायाँनाथ मन्दिर रहेको स्थान हो भन्ने भनाई रहेको छ ।
सतिदेवी भगवान शिवकी पत्नी हुन । सत्य युगमा दक्ष प्रजापतिकी छोरी सतिदेवी हिन्दू धर्म ग्रन्थका अनुसार एक पतिव्रता नारी थिइन । दक्ष प्रजापतिकी पुत्री भएकोले उनलाई दक्षयणी भनेर पनि चिनिन्छ । पवित्र हिन्दुर धर्म ग्रन्थ स्वस्थानी व्रत कथा लगायत सबै ग्रन्थहरुमा सतिदेवीको चरित्रको बारेमा उल्लेख गरिएको छ । पौराणिक कथाहरुमा सतीलाई शिवकी पूर्व पत्नी भनिन्छ । दक्ष प्रजापतिकी कन्याको नाम दक्षायणी दिइन्छ । तर सती शब्द शक्ति नामको अपभ्रंश रुप हो । शक्तिको अर्कौ नाम नै सती हो ।
प्रत्येक वर्ष जनै पूर्णिमा समयमा ५ दिन सम्म मेला लाग्ने गर्दछन । जनैपूर्णिमाको बेला ठाकुरज्यूको गाथ पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीहरु सहित छायाँनाथ मन्दिरमा लगेर लिएपछि छायाँनाथको तीर्थयात्रा सुरु हुन्छ ।ठाकुरज्यूको गाथ जनैपूर्णिमासम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनका लागि पश्चिम नेपालका साविक सेती, महाकाली, राप्ती , कर्णाली अंचलका १५ जिल्लाबाट महिला, पुरुष धामी झाँकी सहित तिर्थालुहरुको लर्को लाग्ने गर्दछ । त्यहाँका स्थानीय वासी तथा मन्दिरका पुजारी यस मन्दिरलाई बद्रीनाथ र केदारनाथ जस्तै एक पवित्र धाम अथवा शक्तिपीठ हो भन्ने मान्दछन् । यस मन्दिर भन्दा माथि शिव, पार्वती र विष्णुका मूर्तीहरु अंकित गुफाहरु रहेका छन् । सत्य युगमा भगवान शिवले सतिदेवीको मृत शरिर पिठमा बोकेर हिँडेका बेला सतिको मृत शरिर गलेर जहाँ जहाँ सतिका अंगहरु पतन भए त्यहाँ त्यहाँ शक्तिपीठहरु बन्नै गएको कथा स्वस्थानी व्रत कथामा उल्लेख गरिएको छ ।

हिन्दुर धर्मावलम्वीहरुले पनि जनै पूर्णीमाका बेला छायाँनाथमा पुगेर शिव महादेवको रुपमा मानेर पुजाजाठ गर्ने आ आफ्ना कूलदेवता मूर्तीहरु नुहाएर शुद्ध पार्ने काम समेत गर्दछन ।छायाँनाथको पानीलाई शुद्ध मानेर लयाई फलफूल, अन्नबालीमा छर्ने र छायाँनाथ पुग्न नसक्नेहरुलाई जल दिने गर्दछन् । देवीदेवताका मूर्तीहरु छायाँनाथबाट शुद्ध पारेर ल्याएपछि जनैपूर्णिमा बिहान आफ्नो ठाउँमा पुगेर देदिदेवताको पुजा पाठ र धामी नाच्ने बौदिक परम्परा छ । छायाँनाथका बहुमूल्य मूर्तीहरु भौगोलिक विकटता र अत्यधिक चिसोका कारण छायाँनाथ राख्न, मानिस बस्न नसकिने भएकाले सदरमुकाम गमगढी स्थित चैनमा रहेको मन्दिरमा राख्ने गरिएको छ । हरेक वर्षको जनैपूर्णिका वेला चैन गाउँमा रहेको छायाँनाथ मन्दिरबाट सुरक्षा सहित ती मूर्तीहरु छायाँनाथ तर्फ लिने गरिन्छ । मन्दिर पश्चिम तर्फ रहेको झयालबाट हमाल थर वा चौलागाई थरका पुजारीबाट विशेष पुजापाठ गरी मूर्ती निकाल्ने गरिन्छ । बौद् धर्मावलम्वीले भनेझौ छायाँनाथ धाम रहेका हिमालका ३ चुचुरामा अवलोकेश्वर, मंजुश्री , बज्रवाणीको स्वरुपमा मानिए जस्तै हिन्दुरुको पनि ती ३ वटा चुचुरामा दायाँ विष्णु भगवान, वीचमा शिव र वायाँ वुद्द भगवान रहेको विश्वास गर्ने गर्छन ।
छायाँनाथ दर्शन गर्दा मनले सोचेको कुरा पुरा हुने, देवीदेवता पाईने, पुण्य कमाउने भन्दै हजारौं तीर्थयात्रु छायाँनाथ पुग्ने गर्दछन ।छायाँनाथ जानू पूर्व द्रोस्रो तीर्थका रुपमा मानिने तिहारवगरमा रहेको त्रिवेणीमा मरेका पृतीहरुको सम्झनामा पिण्डदान गर्ने चलन पनि छ ।काशि ,गया ,अयोध्याय जानूपूर्व हिन्दुहरुले छायाँनाथ जानुपर्ने मान्यता रहेको छ । छायाँनाथ नगएर काशि ,गया गएमा पंडितले बालुवाको थुप्रोमा छायाँनाथको प्रतिमा बनाई पुजा पश्चात काशिको दर्शन गराउने मान्यता छ ।
छायाँनाथमा देखिएका समस्याहरु
धार्मिक एंव प्राकृतिक हिसावमा छायाँनाथ पवित्र तीर्थस्थल भएपनि त्यहाँको विकासको निम्ति राज्य बाट पहल भएको देखिएन । छायाँक्षेत्रका मूलभूत समस्याहरुलाई मैले यसरी उल्लेख गरेको छु ।
१. छायाँनाथ धाम सम्म सहज बाटो पहुँच नहुनु,
२. पर्याप्त ब्यबस्थित धर्मशाला निर्माण र ब्यबस्थापन नहुनु,
३. खानेपानी तथा सरसफाईको उचित प्रबन्ध नहुनु,
४. ठाउँ ठाउँ तीर्थालुहरुलाई बिश्राम गर्न प्रतिक्षालयहरु निर्माण नगरिनु,
५. सूचना तथा संचार प्रविधिको पहुँच बाहिर रहनु
६. हिउँ पहिरो, बाढी पहिरोको उच्च जोखिम भएकाले सोहि अनुरुप विपद पूर्व तयारी नहुनु
७. छायाँनाथ धामको धार्मिक, पुरातात्विक ,ऐतिहासिक एंव प्राकृतिक सौन्दर्यताको प्रचुर प्रचार प्रचार नहुनु ,
८ छायाँक्षेत्रको एकिकृत बिकासको गुरुयोजना निर्माण नहुनु ।

छायाँक्षेत्र बिकासको सम्भावना
धार्मिक एंव प्राकृतिक हिसावमा छायाँनाथ पवित्र तीर्थस्थको सम्भावना मैले यसरी उल्लेख गरेको छु ।
१. हिन्दु र बौद्द धर्मावलम्बीहरुको साझा तिर्थस्थलको रुपमा बिकास गर्न सकिने,
२. धार्मिक पर्यटनको प्रवर्दन गर्न सकिने,
३. साँस्कृतिक बिबधता युक्त समाजको बिकास गर्न सकिने,
४. परम्परागत कला, संस्कृति, रहन ,सहनको संरक्षण संवर्दन गर्न सकिने,
५. छायाँक्षेत्र एकिकृत, बिकास ,प्रवर्दन ,संरक्षण ,संवर्दन गर्न
६. पर्यटन प्रवर्दनबाट आय आर्जन जिवनस्तमा स्तोन्नति गर्न सकिने ।
छायाँनाथ धामलाई हिन्दु र बौद्दमार्गीहरुको साँझा पबित्र संगम स्थलको रुपमा पुजिन्छ । छायाँ क्षेत्र ऐतिहासिक, धार्मिक ,पुरातात्विक, प्राकृतिक सौन्दर्यका दृष्टिले महत्वपूर्ण धाम हो । धार्मिक पर्यटन सम्भावना बोकेको छायाँक्षेत्र भौगोलिक बिकटता, बाटो यातायातको पहुँज बाहिर हुँदा अपेक्षित गतिमा प्रचुर प्रचार प्रचार गर्न सकिएको छैन । सरोकारवाला निकाय संघीय सरकार ,नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार, जिल्ला र स्थानीयतहरु बीच प्रभावकारी समन्वय गरी छायाँक्षेत्रको एकिकृत बिकासका लागि हातेमालो गरी छायाँनाथ धामको धार्मिक ऐतिहासिक पुरातात्विक महत्वलाई राष्ट्रिय अन्तराष्ट्रिय प्रचार प्रचार गर्नुपर्ने देखिन्छ ।
लेखक ःजनराज शाही
न्याय सेवाको अधिकृतमा कार्यरत हुन ।

चर्चामा

सम्बन्धित समाचार