मुगु–कर्णाली प्रदेशले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा पशुपन्छी र पशुजन्य उत्पादन निर्यात गरेर झण्डै डेढ अर्ब रुपैयाँ आम्दानी गरेको छ। साउनदेखि चैत मसान्तसम्म एक अर्ब ४९ करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको पशुपन्छी र पशुजन्य उत्पादन निर्यात गरेको कर्णाली प्रदेश पशुपन्छी विकास निर्देशनालयले जनाएको छ।कर्णाली प्रदेश भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तरगतको निर्देशनालयले रारामा आयोजना गरेको १० जिल्लाका पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुखको त्रैमासिक प्रगति समिक्षा कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो।शुक्रबार निर्देशनालयले प्रदेशकै मुख्य पर्यटकीय स्थल रारामा आयोजना गरेको तेस्रो त्रैमासिक इपिडिमियोलोजिकल रिपोर्टिङ तथा समिक्षा गोष्ठीमा १० वटै जिल्लाको प्रगति विवरण प्रस्तुत गरिएको थियो।प्रदेशका १० जिल्लामा खसी र दुध उत्पादनबाट राम्रो आम्दानी भएको विवरणमा उल्लेख छ।
त्यसमध्ये सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिम पशु र दुध उत्पादन तथा निर्यातमा अग्रस्थानमा छन्।कर्णालीका दशवटै जिल्लामा रहेका पशु अस्पताल तथा पशु सेवा कार्यालयको समग्रमा स्थानीय पालिकाहरुले बजेट न्यून रहेको र पशुपालक किसानलाई सम्मान हुन नसकेको सहभागीहरुले गुनासो गरेका थिए।प्रदेश निर्देशनालयका निर्देशक कृष्णप्रसाद पंगेनीका अनुसार, राज्यका तीनै तहका सरकारले पशुलाई सम्मान हुने कार्यक्रमको अवधारणा अघि सार्न आवश्यक छ। पशुको पालनपोषण, चेकजाँच, स्वास्थ्य उपचार, आठ थरिका खोप निशुल्क गरिनुपर्ने र पशुलाइ आइपर्ने समस्याको सबै जिम्मा राज्यले नै लिनुपर्ने उनको भनाइ छ। अबका दिनमा प्रदेश निर्देशनालयले पशु बिमा, कृषक प्रोत्साहन भत्ता, पशुमा नस्ल सुधार जस्ता महत्त्वपूर्ण कार्यक्रमलाई अघि बढाइने उनले बताए ।