मुगु—तराइमा लाग्ने लामखुट्टे पहाड उक्लिए पछि स्थानीय चिन्तित भएका छन ।पश्चिम खत्याड गाउँपालिकाको सुकाढिक, आम, रिघा, हयाङलु, रातापानी, माँझचौर लगायत एक दर्जन बस्तीमा लामखुट्टेले टोकेर स्थानीयलाई हैरान दिन थालेका छन । उक्त गाउँ बस्तीमा तीन चार बर्ष अघि सम्म लामखुट्टे देखिदैन थिए भने अचेल साँझ पर्न बित्तिकै कोठामा आए टोक्न थालेको स्थानीयको भनाई छ ।
पहिले गाउँमा लामखुट्टे थिएनन सुकाढिक गाउँका गणेश गिरीले भने अचेल लामखुट्टेले दुःख दिन थाले । लामखुट्टे बाट जोगिन झुल प्रयोग ढोकामा झुसको धुवाँ, धुपबत्ती बालेर सुत्नु परेको उनको भनाई छ । गत बर्ष रिघा गाउँका ४१ जनालाई मलेरिया रोग देखा परेको थियो ।
त्यसै सोरु गाउँपालिकाको सिप, तारापानी,कालै, धैनकोट, भीई, सोरुकोट, लिब्रु फोतु, नचार गाउँमा पनि लामखुट्टे देखा परेका छन । छायाँनाथ रारा नगरपालिकाको रुघा, गमगढी, श्रीनगर, भामबाडा, लुम्स पनि लामखुट्टेले फैलिएको छन । मुगुम कार्मारोङ गाउँपालिकाको छाइल बस्तीमा पनि लामखुट्टे देखा परेका छन । गाउँमा गाडी पुगेपछि लामखुट्टे आएको सोरु गाउँपालिका सिप गाउँकी गोबिन्दा बिष्टले बताइन । पहिले लामखुट्टे गाउँमा थिएनन उनले भनिन जब मोटर बाटो पुगेपछि लामखुट्टे पनि पुगेर टोक्न थाले । गाउँमा लामखुट्टे फैलिए पछि ब्यापारीको झुल खपत हुन थालेको छ ।
डबल बेडको झुललाई ७ सय र सिंगल बेडको झुललाई ५ सयमा ब्यापारीले बिक्री गर्ने गरेका छन । छिमेकी जिल्ला हुम्लाको सर्केगार्ड गाउँपालिकाको तुम्च, र अदानचुली गाउँपालिकाको लतलडी, मकै गल्फागार्ड बस्तीमा पनि लामखुट्टे फैलिएर टोक्न थालेपछि स्थानीयले झुल प्रयोग गरेर सुत्न थालेका छन ।अन्य बस्ती भन्दा गाई गोरु पाल्ने बस्तीहरुमा अझ बढी लामखुट्टे देखिने गरेका छन । बिशेष गरि कर्णाली नदीको किनारमा रहेका बस्तीहरु बढी लामखुट्टेको बिगबिगी देखिएको छ ।