काठमाडौं, – सरकारले गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि राष्ट्रिय वनको ३।४५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी दिनुभएको हो। पत्रकार सम्मेलनमा निर्णय सुनाउनुहुँदै प्रवक्ता गुरुङले भन्नुभयो, ‘गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माण गर्नका लागि ललितपुर जिल्लामा रहेको राष्ट्रिय वनको ३।४५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ।’
त्यसैगरी सरकारले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको लागि सम्पत्ति शुद्धिकरण निवारणका लागि नियमनकारी निकायका रुपमा नेपाल राष्ट्र बैंकलाई तोकेको छ।सरकारले सवारी साधन बिक्री गर्ने व्यवसायीको लागि यातायात व्यवस्था विभाग र इन्भेष्टमेण्ट कम्पनीको लागि नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धिकरण निवारणका लागि नियमनकारी निकाय तोकेको उहाँले जानकारी दिनुभएको हो।