काठमाडौँ,- सिन्धुलीको बर्दिबास नगरपालिका–३ गौरी डाँडामा अवस्थित जनता माध्यमिक विद्यालयमा दृष्टिविहिनका लागि आठ कोठे छात्रावास भवन निर्माण सम्पन्न गरी आज हस्तान्तरन एवं उद्घाटन गरिएको छ ।
सो छात्रावास भवनको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गर्नुभयो । कार्यक्रममा मधेश प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशक ठुलोबाबु दाहाल, छात्रावास भवन निर्माणमा सहयोग गर्ने संस्था छाया नेपालका कार्यकारी निर्देशक कमल थापा, विद्यालयका प्रधानाध्यापक रामसकल महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन ढुंगानालगायतको उपस्थिति थियो ।
भवनको निर्माण लागत रु ९९ लाख ३७ हजार चार सय ७७ रहेको छाया नेपालका मधेश प्रदेश संयोजक आशिष रायले जानकारी दिनुभयो । छात्रावासको संचालन जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिले गर्नेछ भने सो छात्रावास भवनबाट मधेश प्रदेशमा रहेका दृष्टिविहिन विद्यार्थीहरुले सेवा लिन सक्ने छन् । हाल सो छात्रावासमा १६ जना दृष्टिविहिन विद्यार्थीहरु पठनपाठन गर्दछन् ।