काठमाडौ – रौतहटका चंद्रपुर नगरपालिका–६ मा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा बहिरा तथा सुस्त श्रवण बालबालिकाका लागि खेलकुद मैदान निर्माण सम्पन्न गरी हस्तान्तरण एवं उद्घाटन गरिएको छ । सो खेलकुद मैदानको उद्घाटन आज एक समारोहका बीच चंद्रपुरका नगरपालिकाका नगर प्रमुख संजय काफ्लेले गर्नुभएको हो । छाया नेपाल नामक संस्थाले बहिरा तथा सुस्त श्रवण बालबालिकाका लागि आवश्यक खेलकुद पूर्वाधार तथा खेलकुद सामग्रीसहित उक्त खेलकुद मैदान निर्माणमा सहयोग गरेको हो ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला चौधरी, प्रमुख प्रशासकीय अधिकृत किरण निधि, सामाजिक विकास शाखा एवं जिन्सी शाखा (सूचना अधिकारी) मिश्री लाल साह, छाया नेपालका कार्यकारी निर्देशक कमल थापा, विद्यालयका प्रधानाध्यापकलगायत हुनुहुन्थ्यो । सो खेलकुद मैदानको निर्माण लागत कुल रु २५ लाख १३ हजार ९७७ रहेको छाया नेपालका मधेश प्रदेश संयोजक आशिषकुमार रायले जानकारी दिनुभयो । खेलकुद मैदान तथा करेसाबारीको संचालन जनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिले गर्नेछ । सो विद्यालयमा छात्राबासमा बसी अध्ययन गर्ने ५४ जना बहिरा तथा सुस्त श्रवण विद्यार्थीहरुले खेलकुद मैदानबाट सेवा लिन सक्ने विद्यालयले जनाएको छ ।