
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग संयुक्त राष्ट्रसंघ नेपालका आवासीय संयोजक हाना सिङ्गर हाम्दीले शिष्टाचार भेट गरेकी छिन् ।मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच वन तथा वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा कुरा भएको मन्त्रालयले जनाएको छ ।भेटमा मन्त्री शाहीले परराष्ट्र मन्त्रालय र वन मन्त्रालयले आयोजना गर्न लागेको सगरमाथा संवाद उच्चस्तरको कार्यक्रम भएको जनाउँदै त्यसमा संयुक्त राष्ट्रसंघको सहयोगको अपेक्षा गरेका थिए ।मन्त्री शाहीले जलवायु, जैविक विविधता र मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि नेपाल सरकारले सक्दो प्रयास गरिरहेको जानकारी गराएका थिए ।सो अवसरमा आवासीय संयोजक हाम्दीले वन मन्त्रालयले पछिल्लो पटक राम्रो काम गरेको बताउँदै मन्त्रालयले अन्तर्राष्ट्रिय मञ्चहरूमा महत्त्वपूर्ण ‘एजेन्डा’ उठाएको उल्लेख गरेका थिए । नेपालले पर्वतीय र जलवायु परिवर्तनका एजेन्डा उठाएर राम्रो काम गरेको उनको भनाइ थियो ।