
काठमाडौ–नेपाली कांग्रेसले वडा देखि कार्यालय सम्मका सबै तहका कार्यालयहरुमा प्लास्टिक रहित क्षेत्र घोषणा गरेको छ ।विश्व वातावरण दिवसको सन्दर्भमा आइतबार पार्टी कार्यालय सानेपामा कांग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आयोजना गरेको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आयोजित संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवाले वडा देखि कार्यालय सम्म प्लास्टिक रहित घोषणा गरेका छन ।
जुन ५ तारिख देखि लागु हुने गरी पार्टी र पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै कार्यालयलाई प्लास्टिकरहित क्षेत्र घोषणा गरिएको छ ।
विश्व वातावरण दिवसका दिनदेखि लागु हुने गरी पार्टी मातहतका सबै तहका कार्यालयका साथै भ्रातृ एवम् शुभेच्छुक संस्थाका कार्यालय र विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयलाई प्लास्टिक रहित क्षेत्र घोषणा गरेको छु सभापति देउवाले घोषणा सभामा बताउनु भयो । वातावरणमा पारेको नकारात्मक असर प्रति गरिएको घोषणा कार्यान्वयनमा पार्टीका सबै तहको सकारात्मक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो सन् २०२४ सबैभन्दा तातो वर्षका रूपमा पुष्टि हुन आएको छ, ढिलो नगरी जलवायु परिवर्तनका असरलाई कम गर्नु पर्ने जोड दिनु भयो ।
हामीलाई विकास मात्रै होइन दिगो विकास चाहिएको छ बताउँदै सभापतिले जलवायु परिवर्तनले अर्थतन्त्रको आधार स्तम्भमा नकारात्मक असर पारेकामा चिन्ता व्यक्त गर्नुभयो । वातावरणमा परेका नकारात्मक प्रभाव कम गर्न पेट्रोलियम पदार्थको सट्टा विद्युतीय सवारी प्रयोगलाई ध्यान दिनुपर्ने र विद्यालय र विश्वविद्यालयमा जलवायुमैत्री शिक्षा दिइनुपर्ने सभापाति देउवाको भनाई छ । उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले हिमाल, पहाड र तराइ मधेससम्म जलवायु सङ्कट प्रत्यक्ष देखिँदै गएको र भविष्यमा यो अझै भयावह हुने बताउनु भयो ।
मन्त्री शाहीले नेपालका ४७ वटा खतराजन्य हिमालहरूमध्ये २१ वटा उच्च जोखिममा रहेको जानकारी गराउनु भयोगत वर्ष थामेमा भएको हिमताल विस्फोट, दोधारा चाँदनी र काठमाडौँ उपत्यकामा वर्षाले निम्त्याएको बाढी पहिरो, जेठ २ गते हुम्लाको लिमी क्षेत्रको तिला गाउँमा भएको हिमताल विस्फोट जस्ता घटनाहरू जलवायु सङ्कटका चेतावनी रहेको मन्त्री शाहीको भनाई छ । जलवायु सङ्कट र विश्वको सन्दर्भ विषयमा प्रस्तुतिकरण गर्दै जलवायु परिवर्तनविज्ञ मञ्जित ढकालले मानिसले खाने हरेक कुरामा प्लास्टिक समावेश भएको भन्दै प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने बताउनु भयो ।