शुक्रबार, भदौ २७, २०८२
शुक्रबार, भदौ २७, २०८२
  • होमपेज
  • समाज
  • महिला सशक्तिकरणको लागि नेपाली चाडपर्व

महिला सशक्तिकरणको लागि नेपाली चाडपर्व

  • सोमवार, भदौ २३, २०८२
महिला सशक्तिकरणको लागि नेपाली चाडपर्व

समाजको विकास र रुपान्तरणको आधारका रुपमा लैङ्गिक समानता एक तत्व हो । राज्यका गतिविधिहरुमा पुरुषसँगै महिलाको समान सहभागिताले महिलाको आत्मबलमा वृद्धि गराई आन्तरिक सक्षमताको विकास गर्दछ ।महिला मानव जातिको श्रोत, उत्पत्तिको आधार र जननी हुन् । सम्पूर्ण मानवको सबलता र क्षमता विकासका लागि उसको जननी स्वतन्त्र र सक्षम हुनुपर्छ । महिलाहरु आत्मनिर्भर र आफ्ना हक अधिकारहरुमा स्वतन्त्र हुँदा उनीहरुको सक्षमता बढ्न गई नेतृत्व क्षमता समेत विकास हुन जान्छ ।

महिला अधिकारको लागि १९ औं शताब्दी देखि महिला अधिकार आन्दोलन र महिलाको हकहित, सुरक्षाका विषयहरु अगाडी आउन थालेका हुन् । केही मुलुकहरुमा त्यस्ता अधिकारहरु कानून, परम्परा र व्यवहारबाट समर्थन हुने गरेका छन् । मताधिकारमा समेत महिलालाई पुरुष सरह समान अधिकार प्रदान गर्ने विषय उठान भइरहँदा महिला मताधिकारको पूर्ण लागू गर्ने देश न्यूजिल्याण्ड बन्यो । संयुक्त राष्ट्रसंघीय महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि,१९७९ जारी भयो । महिलाले आफ्नो राजनीतिक, आर्थिक अधिकार सुनिश्चितताको लागि समय—समयमा संघर्षहरु जारी राखेर स्वतन्त्रता, समानता र सामाजिक न्याय कायम हुन गयो ।

नेपालमा विगतमा लैङ्गिक असमानताको कारण महिला सधैंजसो पछाडी परेका थिए । नेपाली महिलाको अधिकारका विषयमा भएका विगतका आन्दोलनको परिणामस्वरुप वि.सं. २००४ सालको वैधानिक कानूनले निर्वाचनमा भोट गर्न पाउने अधिकार प्रदान गर्यो । नेपालको अन्तरिम शासन विधान, २००७ महिलाका सम्बन्धमा नेपालको आधिकारिक पहिलो दस्तावेजका रुपमा स्थापित भयो । यससँगै समयसमयमा विभिन्न परिवेश बमोजिमको महिला आन्दोलनका स्वरुपहरु परिवर्तन हुँदै गए ।

वि.सं. २०६३ सालको नेपालको अन्तरिम संविधानले समानुपातिक समावेशीकरण सहितको सहभागिताको लागि आधार तयार गरी २०७२ सालमा जारी भएको नेपालको संविधानसँगै राज्यका तीनवटै तह, अगं र सम्पूर्ण राज्यसंयन्त्रमा महिलाको सहभागिता सुनिश्चित भएको छ । राज्यका नीति, कार्यक्रम र क्रियाकलापहरुमा महिलाहरुको अर्थपूर्ण सहभागिता गराउँदै समावेशीकरण सहित महिलाको सशक्तिकरणका लागि राज्यले उपलब्ध व्यवस्थाहरु लागु गर्दै गयो र उक्त व्यवस्था साथै मुलुकको धर्मनिरपेक्ष व्यवस्थाले सम्पूर्ण नेपाली चाडपर्वहरुमा महिलाको स्वतन्त्र सहभागितालाई समेत प्रश्रय दिएको पाइन्छ । जसले महिला सशक्तिकरणमा ठूलो योगदान दिएको छ ।

विगतमा महिलाहरुमा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी चेतनाको कमी,जन्मने बित्तिकै शिशु वालिका देखि नै भेदभावपूर्ण व्यवहार, पौष्टिक आहारमा न्यूनता, कुपोषण, हिंसा जस्ता कुराहरुबाट असर पारिरहने अवस्था थियो । आज पनि नेपाली समाजमा केही खराब प्रवृत्तिहरु कायमै छन्। पितृसत्तात्मक सोच र व्यवहार, महिला हिंसा र दुर्वव्यवहार, दाइजो नल्याएको वा कम ल्याएकोमा महिलामाथि अनैतिक व्यवहारहरु भइरहेको पाइन्छ ।

महिलालाई अगाडी बढ्न नदिने, शिक्षाबाट बञ्चित राख्ने र साँघुरो रुपमा घरभित्र चुलोचौकोमा मात्र सिमित राख्ने गरी गरिने विगतको व्यवहारलाई हटाउँदै हालसम्म आइपुग्दा महिलाले आफ्ना हक अधिकारहरु खोज्ने र समानताका पक्षमा एकता बढाउने कार्य समेत हुँदै आएको छ । यसको लागि पनि नेपाली पर्वहरुको अधिक योगदान रहेको छ ।
विशेष गरि हिन्दु नारीको महान पर्व हरितालिका तीजलाई महिला सक्षमताको आधार चाडका रुपमा लिइन्छ । नेपालका हिन्दु महिलाहरुको महान चाडको रुपमा हरितालिका तीजलाइ हाल सम्पूर्ण नेपाली महिलाहरुले साझा चाडका रुपमा मनाउने र सोको रुपमा विकसित हुँदै आइरहेको छ । तीज गितको माध्यमबाट महिला माथी भएका अन्याय र भेदभाव विरुद्ध आवाज उठाउने पर्वको रुपमा समेत लिइएको छ ।

विगतमा तीजमा दिदीबहिनीहरु जमघट गर्ने, आफ्ना दुख र महिलाहरुको वेदनालाई गीतको रुपमा प्रस्तुत गर्दै सुखदुख साटासाट गर्ने र रमाइलो गर्ने प्रचलन थियो । हालसम्म आईपुग्दा तीज पर्वको प्रवृत्ति परिवर्तन भएको छ। विभिन्न संस्थाहरुमार्फत कार्यक्रम आयोजना गर्ने, तीजमा महिलाहरुलाई सम्मान गर्ने र महिला अधिकारका विषयमा वोल्ने एवम् महिलाहरुलाई प्रोत्साहित गर्ने कार्य भइरहेको छ । यसबाट महिलाहरुले आफ्ना विषयका कुराहरु राख्ने साथै समकालीन समस्याका समाधानका विषयमा समेत छलफल बहस गरी महिलाहरुलाई सशक्त बनाउन योगदान पुग्नेछ ।साथै महिलाको स्वतन्त्रता र महिलाको हक अधिकारको लागि समेत आधार तयार हुनेछ । यसले दबिएको र पिल्सिएको अवस्थाबाट उन्मुक्ति पाई महिलाको खुसीमा समेत बढोत्तरी आएको छ ।

महिला स्वतन्त्रताको नाउँमा चाडपर्वहरुमा हुने अनुचित क्रियाकलाप मार्फत विकृति बढ्ने जोखिम पनि उत्तिकै रहेको छ । नेपाली सांस्कृतिक पर्वहरुमा बढ्दो विकृति विसङ्गति विरुद्ध समेत महिला अधिकारवादी सघं संगठनहरु मार्फत लाग्नुपर्छ । तबमात्र महिलाहरुको अधिकार र लैङ्गिक समानताका सम्बन्धमा एकिकृत सोचको विजारोपण हुन्छ ।

नेपालको जातजातिगत, धार्मिक र सांस्कृतिक विविधता बमोजिम मनाइने चाडपर्वहरुमा प्रायः पर्वहरुमा महिला सक्रियता अधिक रहेको छ । महिलाहरुले त्यस्ता चाडपर्वहरुलाई साझा पर्वका रुपमा समेत मनाउँदै आइरहेका छन् । जसले गर्दा सामाजिक विवाद र द्वन्द्वलाई समेत निश्चित हदसम्म रोकेको पाइन्छ । नेपाली चाडपर्वहरुले हाम्रो सामाजिक विविधतालाई समेत एकाकार गरेको छ ।

सामाजिक सांस्कृतिक विविधता भएको मुलुकमा विभिन्न जातजाती अनुसारका चाडपर्वलाई समुदायबाट नै सुसंस्कृत रुपमा अगाडि बढाउनुपर्छ । समाजका व्यक्तिहरुलाई चाडपर्व मार्फत समेत सचेतना बढाउँदै महिलाको क्षमता विकास, हक अधिकारको संरक्षण र आवाज बुलन्द पार्नमा जोड दिनुपर्छ ।

परापूर्वकालमा महिलाहरु छोरी, चेली, बुहारी भएपछि अवहेलना, कुटपिट, यातना, तनाब झेल्नुपरेको थियो । बर्षभरी नै ती चेलीहरुले बिताएका उक्त समस्याहरुलाई एक दिनको आराम, भोजन मार्फत राहत प्रदान गर्ने उद्धेश्यले तीज पर्वको सुरुवात भएको थियो । हालसम्म आइपुग्दा तीजको दिनभन्दा एक महिना पहिलेदेखि नै महिलाहरु जम्मा हुने दरखाने र रमाइलो गर्ने प्रचलन रहिआएको छ । तिहारमा समेत दिदीबहिनीहरुले दाजुभाइलाई टिका लगाइदिने र दिदीबहिनीहरुलाई आशीर्वाद दिने परम्परा छ । जसले महिलाहरुमा कमजोर हुन नदिई सबलता बढाउँछ ।

दुर्गम र पिछडिएको क्षेत्रका महिलाहरुलाई उनीहरुको हक अधिकारबारे सचेत गराउँदै राज्यको महिला लक्षित क्रियाकलाप र गतिविधि सम्बन्धमा जानकारी गराउने साथै वर्तमान अवश्थाबाट माथि उठ्नको लागि नेपाली समाजमा मनाइने चाडपर्वहरुको समेत विशेष योगदान रहेको छ । विभिन्न जातजातिअनुसारको आ–आफ्नो पर्व मनाउँदै सामाजिक सांस्कृतिक एकता प्रवद्र्धन गर्न मद्दत पुगेको छ । तसर्थ, महिलाको लागि विशेष र सबै नेपालीजनका चाडपर्वमार्फत महिला सशक्तिकरणमा योगदान बढाउनु अहिलेको आवश्यकता समेत हो । महिलाका नाममा हुने विभेद, असमानता, छुवाछुत(जस्तैः महिनावारी, सुत्केरी हुँदा गरिने व्यवहार) लाई समेत अन्त्य गरी समानता कायम गर्नु एवम् आन्तरिक क्षमता र सबलता प्रवद्र्धन गर्न समेत राज्यले विशेष व्यवस्था गर्नुपर्छ ।

नेपालमा मनाइने हरेक चाडपर्वहरु र अन्य सामाजिक गतिविधिहरुमा पितृसत्तात्मक सोचलाइ अन्त्य गर्दै महिलाको समेत सार्थक सहभागिता हुनेगरी मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्छ । लैङ्गिक समानताबाट बाह्य हस्तक्षेपको सामना र भेदभावका विरुद्ध एकीकृत सोचको विकास हुन्छ साथै राष्ट्रिय एकता र राष्ट्र निर्माणमा योगदान पुग्छ ।नेपालका मौलिक पर्वहरुको संरक्षण, यसको सकरात्मकता प्रबद्र्धन गर्ने र मौलिकतामा आँच आउन नदिई विकृतिरहित बनाउँदै सांस्कृतिक विकास र रुपान्तरण उन्मुख बनाइनुपर्छ । महिलाहरुले आफ्नो सुख र खुसीको अनुभुत गर्ने र आन्तरिक क्षमता विकासमा सहजीकरणको भूमिका निर्वाह भइरहेको महशुस समेत गराउन सक्ने तवरबाट नेपाली चाडपर्वहरु मनाउनुपर्छ ।

आन्तरिक रुपमा चाडपर्वहरु मनाइरहँदा वाह्य असर, पश्चिमी संस्कृतिको प्रभाव समेत देखापर्ने गर्दछ । यसप्रति सचेत भई सरकारले उचित नियमन गर्ने र समुदाय स्तरबाट समेत त्यस्ता गतिविधिहरुलाई निरुत्साहित बनाउनुपर्छ ।आधुनिकतामा देखिएको विकृति र उक्त विकृतिबाट सिर्जित परिवेशलाई पूर्व आँकलन गरी त्यस्तो अवस्था आउन नदिने र परम्परागत संस्कृतिको पूर्णरुपमा जगेर्ना र संरक्षण गर्नेतर्फ ध्यान दिनुपर्छ । जसको लागि समेत सांस्कृतिक एकतामा महिला ददीबहिनीहरुको परिचालन हुन सकेमा उनीहरुको आन्तरिक उर्जा पहिचान हुन्छ ।वर्तमान विश्वव्यापीकरणको समयमा मुलभुत रुपमा सरकारले नेपाली पर्वहरुलाई सभ्य र सुसंस्कृतमुखी वनाउँदै राष्ट्रिय एकता कायम राख्ने पक्षमा मुल प्राथमिकता दिनुपर्छ, तबमात्र अन्य क्षेत्र र पक्षको उचित परिचालन हुनेगर्छ । समाजमा परेको प्रभावहरुको विश्लेषण गर्दै सकरात्मकता लाई प्रबद्र्धन गर्ने र नकरात्मक असरलाई सकरात्मकता तर्फ रुपान्तरण गर्नु पनि उत्तिकै आवश्यक छ ।

धार्मिक रुपमा पनि विशेषगरी पुरुषको तुलनामा महिलाहरु बढी सक्रिय रहेको पाइन्छ । जस्तैः हिन्दु धर्ममा पुरुषको तुलनामा महिला बढी मात्रामा पुजापाठ गर्ने, मन्दिर जाने, व्रत बस्ने गर्दछन् । यसबाट उनीहरुमा आन्तरिक शक्ति उत्पन्न भई सो उर्जाको उचित उपयोग प्रतिको भाव जाग्ने गर्दछ । हाल मनाइने पर्वहरुमा सामाजिक सांस्कृतिक एकतामा जोड दिंदै आधुनिक सुचना प्रविधिहरुको सदुपयोग तर्फ समेत ध्यान दिनुपर्छ । नेपाली चाडपर्वहरु मनाइरहँदा सामाजिक संजाल लगायतका प्रविधिहरुको दुरुपयोग र यसबाट पर्ने असर बारेमा समेत चेतना बढाउँदै चाडपर्वलाई सभ्य बनाइ सशक्तिकरणमा जोड दिनु हाम्रो दायित्व हो .।

चर्चामा

सम्बन्धित समाचार