डोल्पा — हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनै स्थित जिल्ला अस्पताल जोड्ने बेलिब्रिज निर्माण सम्पन्न भएपछि स्थानीयवासी कर्मचारी तथा बिरामीलाई आवत–जावतमा निकै सुबिधा भएको छ । कर्णाली प्रदेश सरकारको रु. ६ करोड २४ लाख १० हजार ४ सय ५५ रकममा मिति २०८१ साल असार १६ गते पुर्वाधार विकास कार्यालय, दुनै डोल्पा र निर्माण कम्पनी आर आइ डी ए आर सी नेपाल प्रा.लि., ललितपुर बीच सम्झौता भएको भएको हो ।
उक्त सम्झौता अनुसार पुल मिति २०८३ साल असार १५ गते भित्र सम्पन्न गर्नु पर्ने भएपनि निर्माण कम्पनीले निर्धारित तोकिएको समय भन्दा करिब एक वर्षअघि नै मिति २०८२ साल साउन २८ गते पुल निर्माण कार्य सम्पन्न गरी प्रयोग आएको निर्माण कम्पनी आर आइ डी ए आर सी ले जानकारी गराएको छ । यसअघि पुल नहुँदा स्थानीयलाई अस्पताल जान–आउन कठिनाइ हुने, सवारी–साधन लैजान समस्या हुने कठिनाई अब अन्त भएको छ ।उक्त बेलिब्रिजको लम्बाई ४८.७६८ मिटर र चौडाई ३.१५ मिटर रहेको. यो बेलिब्रिज समय अघि नै सफलतापूर्वक सम्पन्न भएको निर्माण कम्पनीका कार्यकारी निर्देशक हेमराज शाहीले जानकारी गराउनु भयो .।
कम्पनीका कार्यकारी निर्देशक शाहीका अनुसार काम गर्न दक्ष जनशक्ति, स्थानीयवासी, डोल्पा दुनै सरकारी कार्यालयहरू तथा पुर्वाधार विकास कार्यालयको महत्वपूर्ण सहयोग रहेको छ । निर्माण कार्य समयमै सम्पन्न भएपछि मिति ०८२ कार्तिक १६ गते कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कडेलद्वारा पुलको उद्घाटन गरि संचालनमा ल्याइएको छ । उक्त पुल उद्घाटनमा कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाको पनि उपस्थित रहेको थियो । अब बेलिब्रिज पुल बनेसँगै बिरामीलाई औषधि उपचार गर्न अस्पतालमा जान सहज बनेपछि सर्बसाधारण खुशी भएका छन ।