मुगु- जिल्ला स्थित खत्याड गाउँपालिका –९ स्थित नर्खजी गाउँमा दुई साता केही दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँभरि करिव चार सय भन्दा बढी विरामी परेका छन ।
ज्वरोका कारण बालबालिका, महिला, पुरुष वृद्धवृद्धा, सबै प्रभावित छन । भाइरल ज्वरोले नर्खजीको रोकायाबाडा, कार्कीबाडा, दलितबाडा र बेनबाडा गाउ“मा फैलिएको भाइरल ज्वरोले ४ सय बढी बिरामी परेको स्थानीय खेम रोकायाले बताए ।
ज्वरो आउने टाउको दुख्ने, रिंगटा लाग्ने, हातखुटटा दुख्ने, खाना खान मन नलाग्ने वान्त हुने जस्ता रोगका लक्ष्यणले गर्दा बिरामी थला पर्ने गरेको रोकायाको भनाई छ । छिमेकी बस्ती कर्खा, जामिरमा पनि भाइरल ज्वरो फैलिएको उनी बताउछन ।
भाइरल ज्वरो फैलिएको नखर्जी गाउमा रहेको स्वास्थ्य संस्थामा जनशक्ति र औषधी दुवै अभावले गर्दा उपचारमा कठिनाई भएको छ । उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र रातापानी बाट चिकित्सक सहितको टोली गाउँ पुगेपनि भाइरल ज्वरो अझै नियन्त्रणमा आउन नसकेको स्थानीयको भनाई छ ।
नर्खजी स्वास्थ्य केन्द्रका इन्चार्ज अमर बिकले भने भाइरल ज्वरोका कारण धेरै बिरामी छन दैनिक २५ जना भन्दा बढी बिरामी उपचार गर्न आउछन पालिका बाट प्राथमिक स्वास्थ्य केन्द्र बाट औषधि सहित स्वास्थ्यकर्मी आएर उपचार भइरहेको छ । मौसम बदलिए संगै गाउमा भाइरल ज्वरो देखा परेको उनको भनाई छ ।
खत्याड प्राथमिक स्वास्थ्य केन्द्र रातापानीका चिकित्सक विकास धितालले गाउँ पुगेर करिब ३ सय बिरामीको परिक्षण गरेको जानकारी गराए । भाइरल ज्वरोका कारण बालबालिका देखि वृद्धवृद्धासम्म प्रभावित भएको उनको भनाई छ ।
भाइरल ज्वरोको प्रकोपले गर्दा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्थानीयलाई भोट हाल्न समस्या हुन सक्ने स्थानीयको भनाई छ ।
खत्याड गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव बिर्ख रावलका अनुसार भाइरल ज्वरो फैलिएको गाउमा पहिलो चरणमा औषधि पठाएको र बिरामी संख्या बढेकाले औषधि अभाव भएको छ ।
जिल्ला अस्पताल मुगुका प्रमुख डा निर्मल नगरकोटीले ज्वरो फैलिएको क्षेत्र नजिकै रातापानी प्राथमिक स्वास्थ्य केन्द्र बाट स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।