काठमाडौ —सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार निर्वाचन आयोगको निर्णय कानुनसम्मत रहेको ठहर गर्दै विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिलाई वैधानिकता दिएको हो।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनलाई मान्यता दिन नहुने माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो। निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसका विरुद्ध कानुनी लडाइँ सुरु गरेको थियो। सर्वोच्चको यो फैसलासँगै देउवा समूहको माग अस्वीकृत भएको छ भने विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पूर्ण वैधानिकता पाएको छ।
शुक्रबार भएको अन्तिम सुनुवाइमा सभापति गगन थापाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, गोपालकृष्ण घिमिरे, सीताराम केसी, पूर्णमान शाक्य, दीनमणि पोखरेल, र चन्द्रकान्त ज्ञवालीसहितको टोलीले बहस गरेको थियो।
अर्कोतर्फ, रिट निवेदक (देउवा समूह) का तर्फबाट अधिवक्ताहरू रमेश बडाल, रमण श्रेष्ठ र गोविन्द बन्दीले बहस गर्दै विशेष महाधिवेशनको प्रक्रियामाथि प्रश्न उठाएका थिए। दुवै पक्षको बहस सुनेपछि इजलासले निर्वाचन आयोगको निर्णयलाई नै सदर गर्ने फैसला सुनाएको हो ।