काठमाडौ – नेपाली कांग्रेसले देशका ७ सय ५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। पार्टीले अभियानलाई देशव्यापी रूपमा प्रभावकारी ढङ्गले सञ्चालन गर्ने उद्देश्यसहित आवश्यक तयारी अघि बढाएको हो। अभियानमा खटिने प्रतिनिधिलाई जिम्मेवारी, कार्यदिशा तथा आवश्यक जानकारी प्रदान गर्न कांग्रेसले अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्ति जारी गर्दै देशभर अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन्। पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा हुने अभिमुखीकरण कार्यक्रममा काठमाडौं उपत्यकामा उपलब्ध अभियानका सम्पूर्ण प्रतिनिधिलाई अनिवार्य उपस्थित हुन पार्टीले आग्रह गरेको छ।
विज्ञप्तिअनुसार मङ्सिर १३ गते आइतबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ।
काठमाडौं उपत्यकाबाहिर रहेका प्रतिनिधिका लागि भने जुममार्फत भर्चुअल सहभागिताको व्यवस्था मिलाइएको कार्यवाहक मुख्यसचिव दुलालले बताएका छन्। सम्बन्धित प्रतिनिधिलाई जुम बैठकको लिङ्क मोबाइल सन्देशमार्फत पठाइने र सोही लिङ्कबाट निर्धारित समयमा कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ।