सुर्खेत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णाली प्रदेशबाट पार्टीले कम सिट जिते पनि विकास निर्माणका काममा कर्णालीलाई सधैँ प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले चुनावी हारजितसँग विकासको कुनै साइनो नहुने बताए। कार्यक्रममा बोल्दै उनले भने, “रास्वपा सरकारमा रहुन्जेलसम्म चाहे कर्णालीले एक जना पनि नपठाओस्, कर्णालीले एक भोट नदिए पनि विकासको प्राथमिकतामा रहनेछ।”
अन्य प्रदेशको तुलनामा कर्णालीमा पार्टीको प्रतिनिधित्व कमजोर रहेको स्वीकार गर्दै लामिछानेले पार्टीको आवाज दूरदराजसम्म पुग्न नसकेको बताए। “कर्णालीमा हाम्रो उपस्थिति अन्य ठाउँमा जस्तो हुन सकेन र प्रतिनिधित्व पनि कमजोर हुने भयो,” उनले भने, “तर म आज सिङ्गो कर्णालीलाई बाचा गर्न चाहन्छु— तपाईंहरूले हाम्रा उम्मेदवारलाई विजयी गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन। कर्णालीले विकास मागेको छ, खोजेको छ।”
आफू कर्णालीसँग भोटको सौदाबाजी गर्न नआएको स्पष्ट पार्दै उनले यहाँका मुद्दाहरूलाई केन्द्रमा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाए। कार्यक्रममा उनले नेताहरूको कार्यशैलीप्रति इङ्गित गर्दै एयरपोर्टदेखि एयरपोर्टसम्म पुग्दा नेताहरू आफ्नै कार्यकर्ताबाट घेरिने र तिनै सीमित साथीहरू वरपर फोटोमा देखिने प्रवृत्ति रहेको टिप्पणी समेत गरे।
पार्टीका उम्मेदवारलाई जिताएर संसद्मा पठाउने विषयमा कर्णाली पछाडि परे पनि संसद् र सरकारमा कर्णालीका आवाज र समस्यालाई प्राथमिकताका साथ उठाउने सभापति लामिछानेले बताए।