काठमाडौ— पूर्ववनमन्त्री ऐनबहादुर शाही ठकुरीको विशेष पहलमा स्थापना भएको नेपालकै कान्छो मुगुको छायाँनाथ राष्ट्रिय निकुञ्जमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कर्मचारी खटाएको छ ।
निकुञ्ज स्थापना भएको करिब एक वर्षपछि विभागले दरबन्दी मिलान गरी कर्मचारी पठाएसँगै कार्यालय स्थापना र कामकाज सञ्चालनको बाटो खुलेको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलका अनुसार छायाँनाथ राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना गरी कामकाज सुरु गर्न कर्मचारी खटाइएको हो। निकुञ्जमा कुल २७ जनाको कर्मचारी दरबन्दी रहे पनि तत्कालका लागि एक दर्जन कर्मचारी पठाइएको उहाँले जानकारी दिनुभयो
निकुञ्जको सुरक्षार्थ नेपाली सेना कति संख्यामा खटाउने भन्ने विषयमा भने निर्णय भइनसकेको महानिर्देशक पौडेलले बताउनुभयो । विभागले कर्मचारी खटाएपछि अब तत्कालै मुगुम कार्मारोङ गाउँपालिकामा कार्यालय स्थापना गरी कामकाज सुरु गरिने छायाँनाथ राष्ट्रिय निकुञ्जका प्रमुख विष्णु रोकायाले बताए ।उहाँका अनुसार कर्मचारी खटिएसँगै निकुञ्जको प्रशासनिक तथा व्यवस्थापकीय काम अघि बढ्नेछ ।
मुगुमा वि.सं. २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिब ५० वर्षपछि पूर्ववनमन्त्री शाही ठकुरीको विशेष पहलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो राष्ट्रिय निकुञ्जका रूपमा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको थियो। यससँगै नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १२ बाट बढेर १३ पुगेको हो।
दुःख बुझेर छुट्टै निकुञ्ज
मुगुम कार्मारोङ गाउँपालिकाका डोल्फू, किम्री, वाङरी, चितै लगायतका बस्तीका स्थानीयले वर्षौंदेखि भोग्दै आएको प्रशासनिक तथा सेवा सुविधासम्बन्धी कठिनाइलाई मध्यनजर गर्दै पूर्वमन्त्री शाहीले छुट्टै निकुञ्ज स्थापनाका लागि पहल गर्नुभएको थियो।
यसअघि यी क्षेत्रका स्थानीयले वन्यजन्तु संरक्षण, निकुञ्जसम्बन्धी प्रशासनिक काम तथा सेवा सुविधा लिन डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज पुग्नुपर्ने बाध्यता थियो। त्यसका लागि कतिपय अवस्थामा एक सातासम्म पैदल हिँड्नुपर्ने वा मुगुबाट जहाज चढेर नेपालगञ्ज हुँदै डोल्पाको जुफाल पुगेर पुनः निकुञ्जको कार्यालयसम्म जानुपर्ने अवस्था थियो।
स्थानीयको यही समस्यालाई सम्बोधन गर्न शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको भूभाग अलग गरी छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गरिएको हो।
सरकारले निकुञ्ज घोषणा गर्दा यसको क्षेत्रफल ८४३ वर्ग किलोमिटर कायम गरेको छ भने मध्यवर्ती क्षेत्र १७७ वर्ग किलोमिटर तोकेको छ। यसअघि उपलब्ध विवरणअनुसार डोल्फू क्षेत्रको करिब ९०६ वर्ग किलोमिटर भूभाग छुट्याउने पहल गरिएको थियो।
निकुञ्ज स्थापना भएपछि स्थानीयवासीमा खुसी छाएको छ। किम्री गाउँका स्थानीय फोन्जुक तामाङले अब निकुञ्जसम्बन्धी सेवा सुविधा लिन टाढाको डोल्पा पुग्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।
’सेवा सुविधा लिन डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज पुग्न हामीलाई निकै सास्ती थियो। मन्त्री शाहीले हाम्रो दुःखकष्ट बुझेर छुट्टै निकुञ्ज स्थापना गरिदिनुभयो। हामी उहाँप्रति निकै खुसी छौँ। अब आफ्नै गाउँमा निकुञ्जको सेवा सुविधा पाउने भयौँ,’ उहाँले भन्नुभयो।
छुट्टै निकुञ्ज स्थापना गर्न यसअघि मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा स्थानीयवासीले समेत सरकारसँग माग गर्दै आएका थिए।
निकुञ्जको सिमाना
छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने सरकारी निर्णयसँगै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रफल तथा मध्यवर्ती क्षेत्रको सिमानासमेत हेरफेर गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को प्रावधानअनुसार नयाँ निकुञ्ज स्थापना र पुरानो निकुञ्जको सिमाना पुनर्निर्धारण गरिएको हो।
करिब एक वर्षअघि स्थापना भएको छायाँनाथ राष्ट्रिय निकुञ्जमा अब कर्मचारी परिचालनसँगै प्रशासनिक काम, संरक्षण व्यवस्थापन र स्थानीयवासीलाई सेवा प्रवाह गर्ने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
लामो समयदेखि निकुञ्जसम्बन्धी सेवा सुविधाका लागि भौगोलिक कठिनाइ भोग्दै आएका मुगुम कार्मारोङवासीका लागि कर्मचारी परिचालन र कार्यालय सञ्चालनको तयारीलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।