शुक्रबार, अशोज २३, २०८३
शुक्रबार, अशोज २३, २०८३
  • होमपेज
  • News
  • जुम्लाका एलपी देवकोटाले गरे,आम सञ्चारमा विद्यावारिधि

जुम्लाका एलपी देवकोटाले गरे,आम सञ्चारमा विद्यावारिधि

  • बिहिबार, अशोज २२, २०८३
जुम्लाका एलपी देवकोटाले गरे,आम सञ्चारमा विद्यावारिधि

काठमाडौ —हिउँले सेताम्मे हुने जुम्लाको भूगोल चिसो हावा, उकाली–ओराली र सीमित अवसरबीच हुर्किएको एउटा युवकले कुनै दिन सञ्चारको संसारमा आफ्नो छुट्टै पहिचान बनाउला भन्ने कुरा सायद त्यतिबेला कसैले कल्पना गरेको थिएन।
जुम्ला चन्दननाथ नगरपालिका–१०, पण्डितवाडाका एलपी देवकोटाले कर्णाली क्षेत्रमै पहिलो आम सञ्चार विद्यावारिधि गरेका छन । देवकोटाको उमेर अहिले ३५ वर्ष पुग्दै गर्दा विद्यावारिधिको उपाधि हासिल गर्नु सफल यात्रा बन्यो ।
उनको जीवनकथाले जुम्लाका भावी पुस्तालाई एउटा सन्देश दिन्छ । सपना देख्न राजधानी पुग्नुपर्दैन; सपना पूरा गर्न निरन्तरता चाहिन्छ।
भारतको मध्यप्रदेशस्थित मानसरोवर ग्लोबल विश्वविद्यालय बाट पत्रकारिता तथा मास कम्युनिकेशनमा विद्यावारिधि पूरा गरेका देवकोटाले कर्णाली क्षेत्रबाट आमसञ्चार विषयमा पहिलो पीएचडी उपाधि हासिल गर्ने ब्यक्तिमा गनिएका छन ।

यो एउटा शैक्षिक उपाधि मात्र होइन, दुर्गम भूगोल बाट ज्ञान र अनुसन्धानको यात्रामा अघि बढ्न खोज्ने पुस्ताका लागि एउटा संकेत पनि हो—भूगोलले अवसरको ढोका साँघुरो पार्न सक्छ, सपनाको बाटो भने बन्द गर्न सक्दैन । रेडियोको आवाजसँग जोडिएको जुम्ली युवा देवकोटाको पत्रकारिता यात्रा कलेज पुगेपछि मात्र सुरु भएको होइन। उनी विद्यालयमा पढ्दै गर्दा नै सञ्चारको दुनियाँसँग जोडिइसकेका थिए ।

चन्दननाथ माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा २०६१ सालमा रेडियो नेपालका ‘नमस्ते नेपाल’ र ‘आजको सन्दर्भ’ जस्ता कार्यक्रमका लागि काम गर्ने अवसर समेत पाएका थिए । त्यो समय आजजस्तो मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सहज पहुँच भएको समय थिएन

जुम्लाबाट समाचार काठमाडौं पु¥याउनु आफैंमा एउटा संघर्ष थियो । संकटकालको समयमा भीसिएट फोनमार्फत जुम्लाका समाचार एक दिनअघि रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिन्थ्यो। त्यसपछि ती समाचार भोलिपल्ट बिहान ६ बजे प्रसारण हुन्थे। जुम्लाको कुनै कुनामा घटेको घटना रेडियोको तरंग हुँदै देशभर पुग्थ्यो । त्यही प्रक्रियाले देवकोटालाई सिकायो ।
समाचार केवल शब्द होइन, भूगोल जोड्ने पुल पनि रहेछ । विद्यालयस्तरदेखि जिल्ला बाल क्लब सञ्जालमा सक्रिय हुँदै उनले भित्तेपत्रिका प्रकाशनमा समेत हात हालेका थिए । कलमसँगको त्यो प्रारम्भिक सम्बन्ध क्रमशः पेशा, अध्ययन र अनुसन्धानको यात्रामा परिणत हुँदै गयो । मिनी डीभी क्यामेरादेखि टेलिभिजनको पर्दासम्म ।

२०६२÷०६३ को जनआन्दोलनपछि भएको पहिलो संविधानसभा निर्वाचनका बेला देवकोटा नेपाल वन टेलिभिजनको जिल्ला संवाददाताका रूपमा काम थालनी गरे ।
त्यही क्रममा उनले पहिलो पटक मिनी डीभी भिडियो क्यामेरा प्रयोग गर्ने अवसर पाए।
जुम्लाको समाचार अब रेडियोको आवाजमा मात्र सीमित रहेन। क्यामेराले दृश्य टिप्न थाल्यो, घटनालाई चित्रमा कैद गर्न थाल्यो र देवकोटाको पत्रकारिता पनि नयाँ माध्यमतर्फ अघि बढदै गयो ।

२०६५ सालमा उनले एबीसी टेलिभिजनको जिल्ला संवाददाताका रूपमा काम गरे। त्यसपछि उनले २०६६ देखि २०६८ सम्म न्यूज २४ टेलिभिजनमा काम गरे ।
२०७० को दशक सुरु हुनुअघि नै उनको पत्रकारिता यात्रा राष्ट्रिय सञ्चारमाध्यम सँग जोडिइसकेको थियो। २०६९ देखि २०८० सालसम्म कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिकमा काम गर्दै उनले कर्णालीका मुद्दा, घटना र आवाजलाई राष्ट्रिय सञ्चारको मूलधारमा पु¥याउने काम कटिबद्ध रहे ।

देवकोटाको यात्रा राष्ट्रिय सञ्चारमाध्यममा काम गरेर मात्र रोकिएन। स्थानीय पत्रकारितासँगको उनको सम्बन्ध पनि निरन्तर रह्यो । ‘कर्णालीको खोज खबर’ पत्रिकामा रिपोर्टरका रूपमा प्रवेश गरेका उनी पछि सम्पादक बने। अहिले उनी खलंगा पोस्ट दैनिक र खसरैवार डटकमसँग सम्पादकीय भूमिकामा रहेर काम गरि रहेका छन ।
२०७४ सालमा उनले ‘कर्णालीको पत्रकारितामा एक दशक’ नामक पुस्तकसमेत प्रकाशन गरे। यसरी समाचार लेख्ने पत्रकार क्रमशः पत्रकारितालाई हेर्ने, बुझ्ने र अनुसन्धान गर्ने अध्येतामा रूपान्तरण हुँदै गए।

पढाइको बाटो पनि सीधा थिएन देवकोटाको शैक्षिक यात्रा पनि विविध मोड हुँदै अघि बढेको देखिन्छ। उनले जुम्लाको जीएमडी बोर्डिङ स्कुलबाट प्राथमिक शिक्षा लिए। त्यसपछि कर्णाली माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह र चन्दननाथ माध्यमिक विद्यालयमा माध्यमिक तहको अध्ययन गरे।
२०६५ सालमा जुम्ला बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा पीसीएल अध्ययन गरे। २०६६ सालमा चन्दननाथ माध्यमिक विद्यालयबाट मानविकी संकायमा प्लस टु पूरा गरे। त्यसपछि रत्नचुडेश्वर उच्च माध्यमिक विद्यालयबाट २०६७ सालमा पत्रकारिता विषयमा प्लस टु उत्तीर्ण गर्न सफल भए ।

जुम्ला बहुमुखी क्याम्पसबाट नेपाली शिक्षाशास्त्रमा स्नातक (२०७२), त्यहीँबाट शैक्षिक योजना तथा व्यवस्थापन (ईपीएम) मा स्नातकोत्तर (२०७७) गरे। त्यसपछि काठमाडौंस्थित कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनबाट मास कम्युनिकेशन तथा जर्नालिज्ममा स्नातकोत्तर (२०७८) पूरा गरे। अन्ततः अध्ययनको यात्राले उनलाई नेपाल बाहिर, भारतको मध्यप्रदेशसम्म पु¥यायो। मानसरोवर ग्लोबल विश्वविद्यालयबाट पत्रकारिता तथा मास कम्युनिकेशनमा विद्यावारिधि पूरा गरे।

विद्यालयको भित्तेपत्रिकाबाट सुरु भएको अक्षरको यात्रा अन्ततः शोधपत्रसम्म पुग्यो। जुम्ला मार्सी धान, स्याउ र हिमाली भूगोलका कारण चिनिन्छ। तर देवकोटाको उपलब्धिले जुम्लाको अर्को परिचय पनि थपेको छ—ज्ञान र अनुसन्धानको भूगोल ।

उनको जीवनकथाले जुम्लाका भावी पुस्तालाई एउटा सन्देश दिन्छ । सपना देख्न राजधानी पुग्नुपर्दैन; सपना पूरा गर्न निरन्तरता चाहिन्छ।
देवकोटाको उमेर अहिले ३५ वर्ष पुग्दै गर्दा विद्यावारिधिको उपाधिसम्म पुगेको छ।
तर उनको उपलब्धिको मूल्यांकन केवल उमेरसँग तुलना गरेर गर्नुभन्दा उनको यात्राको दूरीसँग तुलना गर्दा अझ अर्थपूर्ण देखिन्छ।

यो यात्रा एउटा व्यक्तिको मात्र यात्रा होइन; कर्णालीको बदलिँदो सञ्चार यात्राको एउटा प्रतिबिम्ब पनि हो । कहिल्यै समाचार काठमाडौं पु¥याउन भीसिएट फोन कुर्नुपर्ने जुम्लाबाट आज डिजिटल माध्यममार्फत संसारसँग तत्काल संवाद गर्न सकिने अवस्था आएको छ। त्यो परिवर्तनका साक्षीमध्ये एक हुन् देवकोटा। पीएचडीको प्रमाणपत्र हातमा आएपछि यात्रा सकिँदैन। बरु एउटा नयाँ प्रश्न सुरु हुन्छ—अब यो ज्ञान कहाँ प्रयोग हुन्छ?
कर्णालीको पत्रकारिता अझै पनि भौगोलिक कठिनाइ, स्रोत–साधनको अभाव, दक्ष जनशक्तिको चुनौती र राष्ट्रिय सञ्चारमा पर्याप्त प्रतिनिधित्वको प्रश्नसँग जुधिरहेको छ।

त्यसैले देवकोटाको विद्यावारिधिको वास्तविक अर्थ एउटा उपाधिमा मात्र सीमित हुँदैन। उनले अध्ययन र पत्रकारिताबाट हासिल गरेको अनुभवलाई कर्णालीको सञ्चार अनुसन्धान, पत्रकारिता शिक्षा र नयाँ पुस्ताको क्षमता विकाससँग जोड्न सके त्यसको प्रभाव अझ फराकिलो हुन सक्ने छ ।।

चर्चामा

सम्बन्धित समाचार