काठमाडौ —भारत भ्रमणमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई अझ बलियो बनाउन ८ वटा महत्वपूर्ण प्रस्ताव सार्वजनिक गर्नु भएको छ । सभापति लामिछानेले भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’ मा लेख लेख्दै दुई देशबीचको सम्बन्धलाई राजनीतिक विवादभन्दा विकास र आर्थिक सहकार्यमा केन्द्रित गर्नुपर्ने बताउनु भएको छ ।
यस्ता छन ८ प्रस्ताव
१ सीमा विवादलाई संवादमार्फत समाधान गर्नु हो। उनले ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा समस्या समाधान गर्नुपर्ने बताएका छन्।
२ काठमाडौं रेलमार्ग निर्माणलाई प्राथमिकता दिनु हो। यो परियोजना सम्पन्न भए व्यापार, पर्यटन र यातायातमा ठूलो परिवर्तन आउने उनको विश्वास छ।
३ पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेङ्गलुरुजस्ता भारतीय शहरमा सिधा हवाई उडान सञ्चालन गर्नु हो। यसले पर्यटन र व्यापार विस्तारमा सहयोग पुग्ने उनले बताएका छन्।
४ ‘काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर’ निर्माण गर्नु हो। यसमार्फत सूचना प्रविधि, डिजिटल भुक्तानी र स्टार्टअप क्षेत्रमा सहकार्य बढाउन सकिने उनको भनाइ छ।
५ भारतका प्रतिष्ठित शैक्षिक र स्वास्थ्य संस्थाहरू नेपालमा विस्तार गर्नु हो। उनले आईआईटी र एम्सजस्ता संस्थाहरू नेपालमा स्थापना गर्न सकिने बताएका छन्।
६ नेपाल–भारत सीमा क्षेत्रमा रासायनिक मल उद्योग स्थापना गर्नु हो। यसले कृषि उत्पादन र आर्थिक विकासमा सहयोग पु¥याउने उनको विश्वास छ।
७ जलविद्युत् र ऊर्जा बजारलाई एकीकृत गर्नु हो। उनले नेपालको ऊर्जा भारतको बजारसँग जोड्नुपर्ने बताएका छन्।
८ खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्नु हो। उनले भविष्यमा नेपाली खेलाडी मात्र होइन, नेपाली रंगशालासमेत आईपीएलसँग जोडिन सक्ने सम्भावना रहेको बताएका छन ।
लामिछानेले नेपाल–भारत सम्बन्धलाई विश्वास, विकास, लगानी, व्यापार र साझा समृद्धिको आधारमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन ।