काठमाडौ —उपत्यकाका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको एक महिने गुँला पर्व आज समापन भएको छ । गुँला धर्म नेवार समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। विशेषगरी काठमाडौँ उपत्यकाका बौद्ध नेवार समुदायले विशेष महत्वका साथ यो पर्व मनाउँछन ।
नेपाल संवत्को गुँला महिनामा मनाइने यस पर्वका क्रममा बिहानै उठेर विभिन्न बौद्ध विहार, चैत्य तथा धार्मिक स्थलमा पुगेर पूजा–आराधना गर्ने परम्परा छ । विशेषगरी काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट श्रद्धालुहरू समूह बनाएर धार्मिक स्थलमा पुग्ने गरेका छन् ।
गुँला धर्म धार्मिक आस्थासँग मात्र जोडिएको पर्व नभई नेवार समुदायको मौलिक संगीत, बाजा, भजन, कला, संस्कृति र पुस्तौँदेखिको परम्परा संरक्षण गर्ने महत्वपूर्ण माध्यम पनि हो।
यही पर्वमा नयाँ पुस्तालाई परम्परागत बाजा बजाउने, दाफा भजन गाउने तथा चैत्य परिक्रमाको संस्कारमा सहभागी गराइन्छ । रूपमा व्रत, पूजा तथा धार्मिक गतिविधिमा सहभागी भएर पर्व मनाउने गर्छन् ।