काठमाडौ—नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनमार्फत निर्वाचित कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ ।
आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्यको रुपमा समितिमा आउने बाटो खुलाउने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो ।
उहाँका अनुसार अब यसअघि विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमिति बाहिर रहेका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले केन्द्रीय सदस्यको हैसियत पाउनेछन् ।
निवर्तमान सभापति शेरबहादुर देउवा समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए ।
उहाँले वडा तहको अधिवेशन असोज ३ र ४ गते सम्पन्न गरिसक्ने निर्णय गरेको पनि बताउनुभयो । उहाँले केन्द्रीय महाधिवेशनको उद्घाटन काठमाडौंको खुला मञ्चमा गर्ने र बन्द सत्र पनि त्यहीँ आयोजना गर्ने निर्णय भएको बताउनुभयो । उहाँले महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न संवाद, सहकार्य र सहमतिको प्रयास जारी राख्ने निर्णय पनि भएको बताउनुभयो ।
काग्रेसले तोकिएको समय भित्र अधिवेशन गर्न नसक्ने जिल्ला , नगर र वडा तहका सभापति तथा संयोजकहरु लाई पदमुक्त गर्न प्रक्रिया अघि बढाउने भएको छ । एक केन्द्रीय सदस्यका अनुसार निर्धारित समयमा अधिबेशन सम्पन्न गर्न वा नसके पद त्याग गर्न सोमबार पत्र पठाउने तयारी भै रहेको छ ।
कांग्रेसले १६ देखि १९ असोजसम्म १५औं महाधिवेशनको मिति तोकेको छ । असोज ३ र ४ गते वडा तहको अधिवेशनको मिति तोकिएको छ ।