काठमाडौं — नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारीका क्रममा देउवा समूहले कर्णाली प्रदेशको सदस्य सचिवमा विवेक आचार्यलाई मनोनीत गरेको छ । संयोजक प्रा.डा. शशांक कोइरालाको हस्ताक्षरमा आर्चायलाई कर्णाली प्रदेशको सदस्य सचिवमा मनोनयपत्र प्रदान गरिएको छ ।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको भदौ १७ र १८ गते बसेको बैठकको निर्णय तथा कर्णाली प्रदेश संयोजकको सिफारिसका आचार्यलाई प्रदेश सदस्य सचिवको जिम्मेवारी दिइएको हो ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले महाधिवेशन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसअघि वडा अधिवेशन असोज १५, पालिका अधिवेशन असोज २०, प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज २३, जिल्ला अधिवेशन कात्तिक १५ र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने कार्यतालिका तय गरिएको जनाइएको छ ।
आचार्यलाई जिम्मेवारी प्रदान गर्दै कांग्रेस नेतृत्वले पार्टीका स्थापित मूल्य–मान्यतालाई आत्मसात गर्दै कर्णाली प्रदेशमा संगठनलाई थप मजबुत र प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
कर्णालीमा पार्टीको आगामी अधिवेशन तथा संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउन प्रदेश सदस्य सचिवको भूमिका महत्वपूर्ण रहने भएकाले आचार्यको मनोनयन लाई संगठन विस्तार र अधिवेशन तयारीसँग जोडेर हेरिएको छ ।