काठमाडौ —लगानी बोर्डको ६८औँ बैठकले १०५.६२ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा कुल २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा लगानी स्वीकृत गर्ने निर्णय गरेको हो
बैठकका अनुसार नार खोला जलविद्युत् परियोजनाको अनुमानित लागत १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ रहेको छ भने सानी भेरी–३ जलविद्युत् परियोजनाको लागत १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ रहेको छ।
यसैगरी, बैठकले ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् परियोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने विषयमा निर्णय गरेको छ।
त्यस्तै, ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको हकमा परियोजना विकास सम्झौतामा भएका प्रावधानबमोजिम तत्काल निर्माण कार्य अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णयसमेत गरेको छ।
बैठकले स्वीकृत परियोजनाहरूको प्रभावकारी कार्यान्वयन तथा लगानीकर्तालाई प्रदान गरिने सेवामा सहजीकरण गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ।
यसबाट परियोजना कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र लगानीकर्तालाई प्रदान गरिने सेवा प्रवाहलाई सहज बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, लगानी बोर्डले आह्वान नगरेका प्रस्तावहरूलाई आवश्यकताअनुसार स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराई अघि बढाउन आवश्यक कानुनी प्रबन्ध गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ।
बैठकले कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्ताव प्राप्त भएमा त्यस्ता परियोजनालाई प्राथमिकता दिने निर्णयसमेत गरेको छ। यस्ता परियोजनाको विकास गर्दा नेपालको नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना तथा आर्थिक विकासमा पुग्ने योगदानलाई समेत आधार बनाइनेछ।
लगानी बोर्डका यी निर्णयले जलविद्युत् विकास, ठूला पूर्वाधारमा लगानी विस्तार, प्रविधिमा आधारित नयाँ परियोजनाको विकास तथा लगानीमैत्री वातावरण निर्माणलाई थप गति दिने अपेक्षा गरिएको छ।