पञ्चायतविरुद्धको संघर्षदेखि सिंहदरबारको सत्तायात्रासम्म, मुगुको राजनीतिमा संगठन निर्माणदेखि कांग्रेसको आन्तरिक गुटसम्म । ३१ वर्षको उमेरमा शिक्षक पेसा छाडेर राजनीतिमा होमिएका कांग्रेस नेता हस्तबहादुर मल्ल ७१ वर्ष पुग्दासमेत सक्रिय छन्। दुई पटक सांसद र शिक्षा राज्यमन्त्री भइसकेका उनी गणतन्त्रपछि भने कुनै लाभको पदमा पुग्न सकेनन् । मुगुको भूगोल जति विकट छ, त्यहाँको राजनीतिक यात्रा पनि त्यति नै कठिन थियो।
सडक पुग्नु विकासको उपलब्धि मानिने, विद्यालय स्थापना हुनु भविष्यप्रतिको आशा बन्ने र राज्यको उपस्थिति महसुस गर्न पाउनु नै नागरिकका लागि ठूलो कुरा हुने समय थियो त्यो। त्यही भूगोलमा लोकतन्त्रको पक्षमा आवाज उठाउँदै राजनीतिमा होमिएका नेता हुन् हस्तबहादुर मल्ल।
शिक्षक पेसामा रहेका मल्लले ३१ वर्षको उमेरमा त्यसलाई छाडेर राजनीतिक यात्रा रोजे। सहज जीवनभन्दा संघर्षपूर्ण बाटो रोज्नु उनका लागि केवल पेसा परिवर्तन थिएन, राजनीतिक विश्वासप्रतिको प्रतिबद्धता पनि थियो।
नेपाली कांग्रेसको विचारधारा र बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवादबाट प्रभावित मल्ल पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक गतिविधिमा सक्रिय भए। वि.सं. २०३८ को जनमतसंग्रहको समयमा चुनावी राजनीतिमा प्रवेश गरेका उनी त्यसको अर्को वर्ष पञ्चायतविरोधी आन्दोलनका क्रममा २२ दिन जेल बसे। जेलजीवनकै क्रममा पार्टीको सभापति निर्वाचित भएको प्रसंग उनको राजनीतिक यात्राको उल्लेखनीय अध्याय बन्यो। त्यसबेला राजनीति आजजस्तो सहज थिएन। सञ्चारका साधन सीमित थिए, भौगोलिक दूरी ठूलो अवरोध थियो र गाउँगाउँमा पुगेर संगठन विस्तार गर्नु आफैँमा कठिन काम थियो। तर मल्लले यही कठिन भूगोलमा कांग्रेसको संगठन विस्तार गर्ने र नागरिकलाई लोकतान्त्रिक अधिकारबारे सचेत बनाउने बाटो रोजे।
वि.सं. २०४६ को जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनःस्थापित भयो। त्यससँगै मल्लको राजनीतिक जीवनले पनि नयाँ मोड लियो। वि.सं. २०४८ को आमनिर्वाचनमा मुगुबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनी राष्ट्रिय राजनीतिमा जिल्लाको प्रतिनिधिका रूपमा स्थापित भए। उनले सहायकमन्त्रीको जिम्मेवारीसमेत सम्हाले।
वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा पुनः निर्वाचित भएपछि उनको राजनीतिक उचाइ थपियो। त्यसपछि उनी शिक्षा राज्यमन्त्री बने।
मुगुका दुर्गम बस्तीमा विद्यालयको पहुँच, शिक्षकको अभाव, शैक्षिक पूर्वाधार र गुणस्तरीय शिक्षाको प्रश्न गम्भीर थियो। त्यस्तो भूगोलबाट शिक्षा मन्त्रालयको जिम्मेवारीसम्म पुग्नु मल्लका लागि व्यक्तिगत उपलब्धि मात्र थिएन, जिल्लाका शैक्षिक समस्यालाई राज्यको नीति निर्माण तहमा पु¥याउने अवसर पनि थियो। उनले मुगुमा प्रत्येक गाउबस्तीमा शिक्षाको उज्यालो छर्न सफल भए । मुगुको एक गाउ“ एक बिद्यालय उनकै पालामा बनेका हुन । उनले गरेको शिक्षा योगदान प्रति मुगुवासीले अहिले सम्म उनलाई शिक्षाको ज्योतिको रुपमा चिन्ने गरेका छन । मुगुको राजनीतिक बृत्तमा मल्लको शिक्षाको योगदान गरेका काम अरु मन्त्री र सांसदको लागि चुनौती बनेको छ ।
मुगु कांग्रेसका नेता तथा कार्यकर्ताको एउटा तप्काले आज पनि उनको शिक्षा क्षेत्रसँग जोडिएको भूमिकालाई सम्झने गरेको छ। जिल्लाको राजनीतिमा उनको परिचय केवल पूर्वसांसद वा पूर्वराज्यमन्त्रीका रूपमा सीमित छैन। लामो समय पार्टी संगठनमा बिताएको अनुभव र कार्यकर्तासँगको सम्बन्धले पनि उनको राजनीतिक पहिचान निर्माण गरेको छ।
तर सिंहदरबारको यात्रा सधैँ उकालो लागिरहँदैन। राजनीतिमा अवसरको ढोका खुल्ने र बन्द हुने क्रमसँगै मल्लको यात्रामा पनि उतारचढाव आए।
नेपालमा गणतन्त्र स्थापना भयो। राजनीतिक व्यवस्था फेरियो, नयाँ दल र नेतृत्व उदाए, पुराना नेताहरूको भूमिका पनि बदलियो। तर मल्लका लागि गणतन्त्रपछि राजनीतिक लाभको अवस्था भने अपेक्षाअनुसार रहेन।
वि.सं. २०६४ को संविधानसभा निर्वाचनमा कांग्रेसभित्रको विवादका बीच टिकट पाए पनि उनी निर्वाचित हुन सकेनन्। वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका मल्ल वाम गठबन्धनका कारण पराजित भए।
राष्ट्रियसभाका लागि उनको नाम जिल्लाबाट दुई पटक सिफारिस भएर गएको बताइन्छ। तर उनी मनोनयनमा पर्न सकेनन्। पार्टीको केन्द्रीय सदस्य पदमा पनि दुई पटक उम्मेदवारी दिए, सफलता हात लागेन।
यसरी हेर्दा मल्लको राजनीतिक जीवनमा अवसरको अभावभन्दा पनि अवसरको ढोकासम्म पुगेर फर्किनुपरेका प्रसंग बढी देखिन्छन्। कुनै समय सिंहदरबारको शिक्षा मन्त्रालयमा जिम्मेवारी सम्हालेका नेता गणतन्त्रपछि भने लाभको पदबाट टाढै रहे।
यही अनुभवले उनको मनमा असन्तुष्टि जन्माएको छ। लामो समय पार्टीमा खटिएर पनि आफूले उचित अवसर नपाएको उनको गुनासो छ। मल्लको राजनीतिक जीवनको अर्को रोचक पाटो नेपाली कांग्रेसभित्रको गुटगत यात्रासँग जोडिएको छ।
कांग्रेसभित्र नेतृत्व र प्रभावका आधारमा विभिन्न समूह निर्माण हुँदै जाँदा मल्लको निकटता पनि समयक्रमसँगै बदलिएको देखिन्छ । उनी कुनै समय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको पक्षमा उभिएर राजनीति गर्थे। त्यसपछि शेरबहादुर देउवाप्रति निकटता देखाए। देउवाको साथ छाडेपछि रामचन्द्र पौडेल पक्षमा उभिएको राजनीतिक वृत्तमा चर्चा रह्यो। तर अहिले उनी गगन थापा पक्षमा छन् वा शेखर कोइराला पक्षमा, त्यो स्पष्ट छैन।
कांग्रेसको आन्तरिक राजनीतिमा गुट परिवर्तन असामान्य विषय होइन। नेताहरूले समय, परिस्थिति, नेतृत्वसँगको सम्बन्ध र राजनीतिक सम्भावनाका आधारमा आफ्नो निकटता बदल्ने गरेका छन्। तर लामो राजनीतिक अनुभव भएका नेताको हकमा यस्तो फेरबदलले व्यक्तिगत प्रभाव, कार्यकर्तासँगको सम्बन्ध र भविष्यको राजनीतिक दिशाबारे प्रश्न पनि उठाउँछ।
मल्लको हकमा पनि यही प्रश्न देखिन्छ। कुनै समय जिल्लामा संगठनको बलियो आधार बनाएका र राष्ट्रिय राजनीतिमा पहुँच स्थापित गरेका उनी अहिले पार्टीभित्र कुन समूहसँग उभिएका छन् भन्ने अन्योल छ।
उनको बदलिँदो राजनीतिक निकटताले कार्यकर्तामाझ पनि प्रश्न जन्माएको छ। के यो अवसरको खोजी हो? नेतृत्वबाट उपेक्षित भएको अनुभूति हो? अथवा पार्टीभित्र आफ्नो राजनीतिक स्थान सुरक्षित राख्ने प्रयास?
यी प्रश्नको उत्तर मल्लको राजनीतिक व्यवहार र उनको आफ्नै भनाइमा खोज्न सकिन्छ। तर उनको राजनीतिक यात्रालाई गुट परिवर्तनको सूचीमा मात्रै सीमित गर्नु पनि न्यायोचित हुँदैन। पञ्चायतकालीन संघर्ष, संसदीय प्रतिनिधित्व र जिल्लामा संगठन निर्माणमा बिताएको लामो समय उनको जीवनका उत्तिकै महत्वपूर्ण पक्ष हुन्।
गणतन्त्र पछि आफूले पार्टीका लागि काम गरे पनि अवसर नपाएको मल्लको गुनासो स्पष्ट छ। उनी आफ्नै जिल्लाका राजनीतिक संगत र पार्टी नेतृत्वसँगको सम्बन्धलाई आफ्नो राजनीतिक यात्रामा अवरोधका रूपमा हेर्छन्।
“जिल्लामा मेरा संगतिहरू राम्रा भएनन्। शेरबहादुर देउवाले मलाई पछाडि पारे। निर्वाचनमा टिकट दिने बेला होस् या राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने बेला, मेरा नाम पछाडि पार्ने काम गरियो,” मल्लको भनाइ छ।
गणतन्त्र स्थापनापछि धेरै नेताले राजनीतिक अवसर र लाभ प्राप्त गरेको, तर आफू भने त्यसबाट वञ्चित भएको उनको बुझाइ छ।
“यो गणतन्त्र पनि मलाई नशुभेजस्तै भयो। गणतन्त्र आएपछि धेरैले लाभ लिए, तर मैले केही पाइनँ। तर पनि पार्टीप्रति अहोरात्र खटिएको छु,” उनी भन्छन्।
उनको यो अभिव्यक्तिमा लामो राजनीतिक यात्राप्रतिको थकानभन्दा बढी असन्तुष्टि र उपेक्षित भएको अनुभूति सुनिन्छ। राजनीतिमा पद नपाउनु र राजनीतिक रूपमा निष्क्रिय हुनु फरक कुरा हुन्। मल्लको हकमा यो भिन्नता प्रस्ट देखिन्छ। ७१ वर्षको उमेरमा पनि उनी स्थानीय तह, पालिका, प्रदेश र संघीय निर्वाचनका बेला पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय हुने गरेका छ ।
चुनावी अभियानमा खटिने, कार्यकर्तासँग सम्पर्कमा रहने र संगठनका गतिविधिमा सहभागी हुने उनको क्रम रोकिएको छैन।
जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताले उनलाई अभिभावकका रूपमा लिने गरेको छ। लामो राजनीतिक अनुभवका कारण नयाँ पुस्ताका नेताहरूले उनीबाट संगठन निर्माण, राजनीतिक सम्बन्ध र चुनावी अभ्यासका पाठ सिक्ने अवसर पाएका छन्।
उनको राजनीतिक यात्रासँग जोडिएका केही नेताले छोटो समयमै महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेको उदाहरण पनि प्रस्तुत गरिन्छ। मल्ल शिक्षा राज्यमन्त्री हुँदा उनीसँग स्वकीय रूपमा काम गरेका ऐनबहादुर शाही ठकुरी पछि जिल्ला कांग्रेस सभापति, प्रतिनिधिसभा सदस्य हुँदै संघीय वनमन्त्री बने। स्वास्थ्य क्षेत्रबाट राजनीतिमा आएका हरिजंग शाहीलाई नगरप्रमुख निर्वाचित गराउन मल्लको योगदान छ । त्यसै गरि सोरु गाउपालिका उपप्रमुख केशरबहादुर शाही र नगरपालिका उपमेयर ऐश्वर्य मल्ल उनकै छत्रछाया भित्रका पात्र हुन ।
यी उदाहरणले मल्लको राजनीतिक प्रभाव पदमा नहुँदा पनि पूर्ण रूपमा समाप्त नभएको संकेत गर्छन्। तर अरू नेताको उन्नति र आफ्नै राजनीतिक अवसरबीचको दूरीले उनको मनमा कस्तो अनुभूति जन्माएको छ भन्ने कुरा उनको गुनासोबाट अनुमान गर्न सकिन्छ।
मुगुको विकासको कथा अझै पूरा भएको छैन। भौगोलिक विकटता, पूर्वाधारको अभाव, शिक्षा र स्वास्थ्य सेवामा पहुँच तथा रोजगारीका अवसरको असमान वितरणजस्ता प्रश्न आज पनि कर्णालीको विकास बहसका केन्द्रमा छन्।
यिनै समस्यालाई राष्ट्रिय राजनीतिमा उठाउने उद्देश्यसहित संघर्ष गरेका मल्ल अहिले पदविहीन छन्। तर उनको राजनीतिक सक्रियता समाप्त भएको छैन। उनी अझै पार्टीका उम्मेदवारलाई जिताउन खटिन्छन्, संगठनसँग जोडिइरहन्छन् र आफ्नो राजनीतिक अनुभवलाई निरन्तरता दिन खोज्छन्।
३१ वर्षको उमेरमा शिक्षक पेसा छाडेर राजनीतिमा लागेका हस्तबहादुर मल्लले ७१ वर्षको उमेरसम्म आइपुग्दा अनेक राजनीतिक मोड पार गरेका छन्। पञ्चायतविरुद्धको संघर्ष, जेलजीवन, बहुदलीय व्यवस्थापछिको संसदीय सफलता, शिक्षा मन्त्रालयको जिम्मेवारी, निर्वाचनमा पराजय र पार्टीभित्रको गुटगत फेरबदल—यी सबै उनको राजनीतिक जीवनका फरकफरक अध्याय हुन्। गणतन्त्रले धेरै राजनीतिकर्मीलाई नयाँ अवसर दियो। मल्ल भने त्यसको लाभ आफूले पाउन नसकेको बताउँछन्। तर राजनीतिमा पद नपाउनु मात्रै अन्तिम मूल्यांकन होइन। जनतासँगको सम्बन्ध, संगठन निर्माणमा गरेको योगदान र सार्वजनिक जीवनमा छोडेको प्रभाव पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
मल्लको राजनीतिक यात्राले यही प्रश्न छाडेको छ—लामो समय पार्टीका लागि संघर्ष गरेको नेताको मूल्यांकन पद र मनोनयनबाट मात्रै गर्ने कि उसले निर्माण गरेको संगठन, राजनीतिक चेतना र जनसम्बन्धबाट पनि गर्ने? मुगुको राजनीतिमा उनको भूमिका र कांग्रेसभित्रको बदलिँदो शक्ति समीकरणले यो प्रश्नको उत्तर खोजिरहनेछ । राजबहादुर शाहीको बिशेष रिर्पोट