शुक्रबार, मंसिर १२, २०८३
शुक्रबार, मंसिर १२, २०८३
  • होमपेज
  • News
  • ६३ वर्षपछि मुगु राराको महेन्द्र चौतारी पुनर्निर्माण

६३ वर्षपछि मुगु राराको महेन्द्र चौतारी पुनर्निर्माण

  • शुक्रबार, मंसिर १२, २०८३
६३ वर्षपछि मुगु राराको महेन्द्र चौतारी पुनर्निर्माण

मुगु – कर्णालीको मुटु मानिने मुगु जिल्लाको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा तालको छेउ, मिलिचौरमा रहेको ऐतिहासिक महेन्द्र चौतारी करिब ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ ।
लामो समयसम्म मर्मतसम्भार र पुनर्निर्माणको अभावमा जीर्ण बन्दै तथा हराउँदै जान थालेको यो चौतारी नेपाली सेनाको पहल र विभिन्न सरोकारवाला निकायको सहकार्यमा नयाँ स्वरूपमा तयार भएको हो ।

रारा राष्ट्रिय निकुञ्जको हुटुमा रहेको नेपाली सेनाको श्री हनुमान ध्वज गुल्मको विशेष पहल तथा मुगुका विभिन्न निकायको सक्रियतामा चौतारी पुनर्निर्माण सम्पन्न गरिएको छ । पुनर्निर्माण कार्य सकिएसँगै उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी पदमबहादुर बुढाले चौतारीको उद्घाटन गर्नुभएको छ ।

राराको मिलिचौरस्थित यो चौतारीसँग नेपालको आधुनिक पर्यटन र साहित्यको एउटा रोचक इतिहास जोडिएको छ । रारा मुर्मा गाउँका समाजसेवी बिर्खबहादुर रोकायाका अनुसार विक्रम संवत् २०२० सालमा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाह रारा सवारी हुनुभएको थियो । सोही क्रममा उहाँले राराको मिलिचौरमा आफ्नै नाममा महेन्द्र चौतारी निर्माण गर्नुभएको थियो ।

रोकायाका अनुसार राजा महेन्द्र त्यही चौतारीमा बसेर राराको अनुपम सुन्दरताबाट मोहित भई “हिमालमा नेपाल कहाँबाट झ¥यौ तिमी स्वर्गकी अप्सरा रारा“ कविता कोर्नुभएको थियो । प्रकृतिप्रेमी राजाको सवारी र त्यसपछि राराको चर्चा चुलिएको सन्दर्भले यो चौतारीलाई ऐतिहासिक महत्व दिलाएको स्थानीयको बुझाइ छ । रारालाई महेन्द्र ताल पनि भन्ने गरिन्छ ।

विसं २०२० मा बनेको चौतारी त्यसपछिका दशकहरूमा उचित संरक्षण र पुनर्निर्माण नहुँदा बिस्तारै मासिँदै र हराउँदै जाने अवस्थामा पुगेको थियो । लामो समयसम्म स्थानीय तह वा अन्य निकायबाट यसको ठोस पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक चिनो नै गुम्ने जोखिम बढेको रोकाया बताउनुहुन्छ ।

ऐतिहासिक सम्पदा र चिनो जोगाउने उद्देश्यसहित नेपाली सेनाको श्री हनुमान ध्वज गुल्मले अग्रसरता लिएपछि चौतारीले पुनर्जीवन पाएको हो । चौतारी पुनर्निर्माण अभियानमा रारा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, डाँफे होटल एण्ड लज, मष्ठो कुल देवता प्रतिष्ठान, स्मार्ट कटेज एण्ड रेष्टुरेन्ट र मनकामना रिसोर्ट लगायतका निकाय तथा व्यवसायीहरूको सहयोग रहेको रोकायाले जानकारी दिनुभयो ।

रारा तालको किनारैमा रहेको मिलिचौर खुला चौर र मनमोहक दृश्यका कारण पर्यटकहरूको रोजाइमा पर्ने ठाउँ हो । अब त्यही ठाउँमा पुनर्निर्माण गरिएको महेन्द्र चौतारीले रारा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण थपेको छ । रारा घुम्न आउने पर्यटकहरूले चौतारीको ऐतिहासिक पृष्ठभूमि र राजा महेन्द्रसँग जोडिएको प्रसंगबारे चासोपूर्वक जानकारी लिने गरेका छन् । चौतारीमा बसेर राराको दृश्य नियाल्दै फोटो तथा भिडियो खिच्ने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार