काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिएकी छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आज सन्देश जारी गर्दै उनले हिंसा, विभेद र अपमान कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताइन् ।
सन्देश मार्फत मन्त्री बादीले दोषीलाई कडा कानुनी कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो। समाजमा महिला तथा चेलीबेटीमाथि हुने हिंसाप्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “तपाईंकी छोरी हाम्रो पनि छोरी हुन्, तपाईंकी बुहारी हाम्री पनि चेली हुन्। उनीहरूले डर होइन, सुरक्षा र सम्मानसहित बाँच्न पाउनुपर्छ।
लैङ्गिक हिंसा न्यूनीकरण कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै उहाँले सरकारी निकाय, राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था र सम्पूर्ण नागरिकलाई एकजुट हुन आह्वान गर्नुभएको छ।
हिंसा सहनुको साटो आवाज उठाउन र हिंसा गर्नेहरूलाई खबरदारी गर्न आग्रह गर्दै मन्त्री बादीले सबैको सामूहिक प्रयासबाट मात्र हिंसामुक्त नेपालको निर्माण सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ।