मुगु –मंसिर महिनाको सुरुवातसँगै हिमाली जिल्ला मुगुको उच्च भेगमा भएको कठ्याङ्ग्रिँदो चिसोका कारण जनजीवन बन्न थालेको छ ।समुद्री सतहदेखि करिब ३ हजार ३ सय मिटरको उचाइमा अवस्थित मुगुम कार्मारोङ गाउँपालिका–२, मुगु गाउँका करिब १ सय २० परिवार जाडो छल्न घर औल (बेशी) झर्न सुरसार गर्दैछन ।
हिउदमा बाक्लो हिमपातसँगै चल्ने सिरेटो हावा र माइनस डिग्रीमा झरेको तापक्रमका कारण मुगु गाउँको दैनिकी कष्टकर हुनेगरेको छ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाका अनुसार मगु अत्यधिक चिसोले गाउँका धारा र खोलाको पानीसमेत जम्न हुदा जाडो कटाउन स्थानीय बेशी झर्न सुरसार गर्न थालेका छन अध्यक्ष लामाले भने, “पानी जम्ने र सिरेटोले ज्यान नै जोखिममा पर्ने भएपछि स्थानीय बासिन्दा बाध्य भएर हिउमा बस्ती छोड्नुपरेको हो
वर्षौंदेखि चल्दै आएको मौसमी बसाइँसराइको परम्पराअनुसार स्थानीय बासिन्दाहरू आफ्ना घरपालुवा चौपाया (याक, चौरी, भेडाबाख्रा र घोडाखच्चड) समेत सँगै लिएर सुरक्षित र न्यानो गन्तव्यतर्फ लागेका छन् । गाउँलेहरू कोही पालिकाकै तल्लो भेग सिरानचौर र चितैको तिहार बगरमा झरेका छन् भने कोही जिल्ला सदरमुकाम गमगढी, छिमेकी जिल्ला जुम्ला र राजधानी काठमाडौंसम्म पुगेका छन् ।
१ सय २० घरधुरी रहेको सिंगो मुगु गाउँ सबै परिवार बेशी झरेपछि घरको हेरचाह, अन्नपात र मालसामानको सुरक्षाका लागि गाउँमा केवल दुई–तीन जना कुरुवा मात्र बस्ने गरेका छन । ती कुरुवाहरूले हिउँ पन्छाउने र बाँकी रहेका संरचनाको रेखदेख गर्ने जिम्मा पाएका छन् । मंसिरदेखि चैत–वैशाखसम्म करिब ६ महिना मुगु गाउँ पूर्ण रूपमा मानवविहीन जस्तै बन्ने गर्दछ ।स्थानीय बासिन्दाले गाउँ छोडेसँगै गाउँमा रहेका सरकारी तथा सामुदायिक सेवाहरू पनि बन्द भएका छन् ।
नागरिक मात्र होइन, राज्यको सुरक्षा संयन्त्रसमेत चिसोका कारण सदरमुकाम फर्किएको छ । मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानहरू स्थानीय बेशी झरेपछि सुरक्षाकर्मीहरु
पुल प्रहरी चौकी वा जिल्ला सदरमुकाम फर्किने गरेका छन । अत्यधिक हिमपात हुँदा सञ्चार र यातायात सम्पर्क विच्छेद हुने तथा रासनपानी ढुवानीमा समेत समस्या हुने भएकाले प्रहरी टोली हरेक वर्ष हिउँदयाममा सदरमुकाम झर्ने गर्दछ ।
मुगुम कार्मारोङ गाउँपालिकाका उच्च हिमाली बस्तीका बासिन्दाहरूको जीवनशैली मौसमअनुसार फेरिने गर्दछ । भौगोलिक विकटता र प्रतिकूल हावापानीका कारण यहाँका स्थानीयले वर्षको ६ महिना (जेठदेखि कात्तिकसम्म) आफ्नै गाउँमा खेतीपाती, यार्सागुम्बा संकलन तथा पशुपालन गरेर बिताउँछन् भने बाँकी ६ महिना (मंसिरदेखि वैशाखसम्म) बेशी झरेर व्यापार व्यवसाय तथा मजदुरी गर्ने गर्दछन् ।
गर्मी मौसमको सुरुवातसँगै हिउँ पग्लिन थालेपछि आगामी चैत–वैशाख महिनामा मात्र यी परिवारहरू पुनः आफ्नो गाउँ फर्किनेछन् ।