शनिबार, कार्तिक १, २०८३
शनिबार, कार्तिक १, २०८३
  • होमपेज
  • News
  • शोकलाई शक्तिमा र निराशालाई आशामा बदल्दै जीवनको यात्रा तय गरौ, पूर्वराजा ज्ञानेन्द्र शाह

शोकलाई शक्तिमा र निराशालाई आशामा बदल्दै जीवनको यात्रा तय गरौ, पूर्वराजा ज्ञानेन्द्र शाह

  • शुक्रबार, अशोज ३०, २०८३
शोकलाई शक्तिमा र निराशालाई आशामा बदल्दै जीवनको यात्रा तय गरौ,  पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौ – पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैं तथा शुभदिपावलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता, आत्मनिर्भरता, राष्ट्रिय स्वाभिमान र राज्य प्रणालीको सुदृढीकरणमा जोड दिनुभएको छ।
शुक्रबार जारी सन्देशमा राजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादशैं प्राकृतिक प्रकोपबाट उत्पन्न दुःख र पीडाका बीच मनाउनु परेकोमा दुख व्यक्त गर्नुभएको छ।

उहाँले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको शीघ्र पुनस्र्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा देशको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक र प्रशासनिक क्षेत्रका विद्यमान अन्योल समाधान गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभएको छ।

पूर्वराजा शाहले विपत्तिबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा प्रभावित नागरिकको शीघ्र र उपयुक्त पुनस्र्थापनालाई अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्नु भएको छ ।

प्रकृतिका नियम न्यायसंगत भए पनि कठोर हुने उल्लेख गर्दै उहाँले विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि प्रकृतिको सन्तुलन र संरक्षणमा ध्यान दिनुपर्ने उहाको भनाई छ । ्उहाँले प्राकृतिक प्रणालीलाई नबिथोलिने गरी संरक्षणमुखी नीति अवलम्बन गर्न र विपद् व्यवस्थापनका लागि पूर्वतयारी, सावधानी तथा विवेकपूर्ण निर्णय आवश्यक रहेको औँल्याउनु भएको छ ।

उहाँले भोटेकोशीमा आएको भीषण बाढी, असोजमा परेको अविरल वर्षा र दशैंको मुखैमा आएको बूढीगण्डकीको बाढीबाट विभिन्न क्षेत्रमा जनधनको ठूलो क्षति भएको स्मरण गर्नु भएको छ ।प्राकृतिक विपत्तिका कारण नागरिकले भोग्नुपरेको पीडालाई साझा राष्ट्रिय पीडाका रूपमा लिनुपर्ने उल्लेख गर्दै उहाँले शोकलाई शक्तिमा र निराशालाई आशामा बदल्दै अघि बढ्नुपर्ने प्रेरणा समेत अभिव्यक्त गर्नुभएको छ।

जनताको पीडा नै समग्र देश र राज्यको साझा पीडा भएको मान्यताका आधारमा नेपाल र नेपालीको पक्षमा आफ्नो भूमिका निरन्तर रहने पनि उहाँले प्रतिबद्धता जनाउनु भएको छ।

पूर्वराजा शाहले देशको वर्तमान अस्तव्यस्त अवस्थाबारे प्रश्न उठाउँदै राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक तथा व्यावसायिक क्षेत्र किन अन्योल र अलमलमा देखिएको छ भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने सन्देशमा उल्लेख गर्नु भएको छ ।

राज्य प्रणालीलाई कुन दिशामा अघि बढाउने, प्रजातान्त्रिक आधारलाई कसरी बलियो बनाउने र अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने प्रश्नको समाधान खोज्नुपर्ने उहाँको भनाइ छ।राज्य सञ्चालनको जिम्मेवारीमा अघि बढेको नयाँ पुस्ताप्रति आशा व्यक्त गर्दै उहाँले युवाको जोश, जाँगर र सक्रियताले देशवासीको मुहारमा खुसी ल्याउने अभिलाषा राखिएको बताउनु भएको छ ।

विभाजित नभई एकताबद्ध, परनिर्भर नभई आत्मनिर्भर तथा कमजोर नभई सबल र सक्षम नेपाल निर्माण गर्ने सोच सबै नेपालीमा जागृत हुनुपर्ने कामना गर्नु भएको छ । पूर्वराजा शाहले शुभकामना सन्देशमा सत्यको असत्यमाथि र दैवी शक्तिको आसुरी शक्तिमाथिको विजयका रूपमा मनाइने दशैंले नेपालीलाई सत्य, न्याय र शक्तिको मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उल्लेख गर्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार