
काठमाडौ—नेवार समुदायले मनाउने गुँला पर्व शुक्रबार बाट सुरु भएको छ . साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने उक्त पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।गुँला पर्वको अवसरमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ ।राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा बजाउने प्रचलन छ । यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो ।
यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ । बौद्ध धर्मावलम्बीहरु बिहान सबेरै स्वयम्भू महाचैत्यमा पुगेका थिए । काठमाडौंका स्थानीयवासी स्वयम्भू महाचैत्य दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्न पुगेका थिए ।यो पर्व अवधिभर माछा मासु, जाँडरक्सी, गुन्द्रुक खान नहुने नियम छ ।