राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको प्रथम जिल्ला अधिवेशनबाट बिर्खबहादुर मल्ल सभापतिमा निर्वाचित हुनु भएको छ । तीन दिनसम्म चलेको सघन छलफल र लोकतान्त्रिक अभ्यास (निर्वाचन) पद्धति मार्फत मल्ल सभापति पदमा चयन हुनु भएको छ । बुधबार नवनिर्वाचित जिल्ला कार्य समितिका पदाधिकारीले पनि सपथग्रहण गरिएको छ । नवनिर्वाचित सभापति मल्लसामु मुगुमा रास्वपाको संगठन विस्तार भावि कार्यदिशा र चुनौतीको सन्र्दभमा गरिएको संक्षिप्त कुराकानीः
मुगु रास्वपाको ऐतिहासिक पहिलो जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको छ, कस्तो महसुस गरिरहनुभएको छ?
बिर्खबहादुर मल्लः सर्वप्रथम, मलाई विश्वास गरेर यो ऐतिहासिक जिम्मेवारी सुम्पिनुहुने मुगुका सम्पूर्ण रास्वपा परिवार, प्रतिनिधि र शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु। हामी सर्वसम्मतिको प्रयास असफल भएपछि पूर्ण लोकतान्त्रिक विधि (निर्वाचन) बाट नेतृत्व चयन गरेर आएका छौँ। यो जित मेरो व्यक्तिगत जित होइन, मुगुमा वैकल्पिक राजनीतिको जग बलियो बनाउने रास्वपाका तमाम कार्यकर्ताहरूको चाहनाको प्रतिबिम्ब हो। जिम्मेवारी चुनौतीपूर्ण छ, तर म निकै उत्साहित छु।
अधिवेशनमा सर्वसम्मति हुन सकेन र चुनावमै जानु पर्यो। यसले पार्टीभित्र आन्तरिक गुटबन्दी वा असमझदारी बढ्ने खतरा रहँदैन?
रास्वपा एउटा लोकतान्त्रिक र खुला विचार बोकेको पार्टी हो। नेतृत्वका लागि स्वच्छ प्रतिस्पर्धा हुनुलाई गुटबन्दीका रूपमा हेरिनु हुँदैन। निर्वाचन प्रक्रिया सकिएसँगै प्रतिस्पर्धा पनि सकिएको छ। निर्वाचन समितिको घोषणा लगत्तै हामी सबै एकाकार भइसकेका छौँ। कार्यसमितिलाई साथमा लिएर, अनि प्रतिस्पर्धी साथीहरूको विचारलाई समेत समेटेर हामी हिँड्नेछौँ।
मुगु जस्तो भौगोलिक रूपमा विकट र परम्परागत दलहरूको बलियो पकड भएको जिल्लामा रास्वपालाई स्थापित गर्ने यहाँको कार्ययोजना के छ?
हो, मुगुमा पुराना राजनीतिक दलहरूको लामो इतिहास र पकड छ। तर, विगतका दशकौँदेखि उनीहरूले गरेको राजनीति र विकासको अवस्था आम जनताले देखिसकेका छन्। मुगु अझै पनि आधारभूत स्वास्थ्य, गुणस्तरीय शिक्षा र भरपर्दो सडक सञ्जालका लागि संघर्ष गरिरहेको छ । हाम्रो मुख्य कार्ययोजना भनेको मुगुका ४ वटै स्थानीय तह (गमगढी, सोरु, खत्याड र मुगुम कार्मारोङ) का प्रत्येक वडा र टोल–टोलसम्म पुगेर पार्टीको ’संगठन विस्तार’ गर्नु हो। हामी पुराना दलहरू जस्तो आश्वासनको राजनीति गर्दैनौँ। डेलिभरी, पारदर्शिता र सुशासनको जगमा जनताको घरदैलोमा पुगेर नयाँ पुस्ता र परिवर्तन चाहने नागरिकलाई गोलबद्ध गर्नेछौँ।
मुगुको विकास, पर्यटन र पूर्वाधारका क्षेत्रमा रास्वपाले कस्तो भूमिका खेल्छ?
मुगु सम्भावना नै सम्भावनाले भरिएको जिल्ला हो, तर इच्छाशक्तिको अभावमा यो पछि परेको छ। हाम्रो मुख्य एजेन्डाहरू निम्न हुनेछ । रारा तालको पर्यटन प्रवद्र्धनः रारा मुगुको मात्र नभई देशकै गहना हो। तर, त्यहाँसम्म पुग्ने सडक पूर्वाधार र पर्यटक मैत्री वातावरण अझै बन्न सकेको छैन। हामी संघीय र प्रादेशिक तहमा रहेका हाम्रा जनप्रतिनिधिहरू मार्फत राराको वृहत्तर विकास र अन्तर्राष्ट्रिय स्तरको प्रवद्र्धनका लागि निरन्तर दबाब दिनेछौँ। स्थानीय उत्पादनको बजारीकरणः मुगुको रैथाने बाली (कोदो, चिनो, कागुनो), स्याउ र ओखर जस्ता कृषि उत्पादनहरू अमूल्य छन्। यिनको आधुनिक खेती र देशव्यापी बजारीकरणका लागि हामी स्थानीय तहहरूसँग समन्वय र खबरदारी गर्नेछौँ।
सुशासन र भ्रष्टाचार अभियानमा तपाईको भूमिका कस्तो रहला मुगुका विकास आयोजनाहरूमा हुने ढिलासुस्ती र बजेट दुरुपयोग विरुद्ध हाम्रो संगठनले सशक्त रूपमा ’वाचडग’ (रक्षक) को भूमिका निर्वाह गर्नेछ। चार वटै स्थानीतहमा सुशासन र भ्रष्टचारको निम्ति पार्टीको भूमिका कडा हुनेछ ।
अन्तमा, रास्वपा मुगुका नव–निर्वाचित सभापतिको हैसियतले मुगुवासी आम नागरिक र पार्टीका कार्यकर्ताहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
म सम्पूर्ण मुगुवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई भन्न चाहन्छु— मुगुले लामो समय राजनीतिक उपेक्षा भोग्यो, अब त्यो अवस्था रहनु हुँदैन। रास्वपा तपाईँहरूको आफ्नै सुख–दुःखको साथी बन्न आएको छ। पार्टीका साथीहरूलाई मेरो आग्रह छ कि, अब निर्वाचनको ह्याङओभर बाट उठेर गाउँ–गाउँ पस्ने बेला भएको छ। हामी गफ होइन, काम गरेर देखाउनेछौँ।