काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सरकारले आफनो लक्ष्य र बाचा अनुसार काम गर्ने बताउनु भएको छ ।
नेपाली युवा उद्यमी मञ्च २२औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा सहभागी लामिछानेले उद्यमी तथा व्यवसायीले राज्यलाई करमार्फत योगदान गरिरहेको भन्दै उनीहरूलाई प्रोत्साहन र सम्मान गर्ने वातावरण बनाउनुपर्ने जनाएका छन ।
सरकार गठन भएको चार महिनामै मुल्याकन गर्ने समय नभएको सभापति लामिछाने बताएका छन । उनले चार सरकारले बिस्तारै काम गरिरहेको बताएका छन ।
सरकारले आफूले गरेका बाचा पूरा गर्ने उल्लेख गर्दै लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए निगरानी र खबरदारी गर्ने राजनीतिक शक्ति आफूहरूसँग रहेको जानकारी गराउनु भयो । सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता आफूहरूसँग रहेको सभापति लामिछानेको भनाई छ ।
सरकार युवा लक्षित रहेको दाबी गर्दै लामिछानेले युवाहरूलाई देशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकार केन्द्रित रहेको उल्लेख गर्नु भयो । उद्यमशीलतामार्फत मुलुकको अर्थतन्त्र बलियो बनाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको उहाको भनाई छ ।