काठमाडौ —आज हरितालिका तीज पर्वको स्वदेश तथा बिदेशमा रहेका अवसरमा हिन्दू धर्मावलम्बी नारीहरू महादेवको पूजा आराधना गरी खुशी र उमंगका साथ मनाइदैछन ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन ।यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् ।
पशुपतिनाथमा भक्तजनको भीड
हिन्दुनारीहरुको महान पर्व आज हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्छन् । तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ
आज पशुपति मन्दिर प्रवेश गरी धेरैमा दुई घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड व्यवस्थापनमा परिचालन भएका छन । सिमित पशुपतिनाथ क्षेत्रमा भक्तजनहरुको भीड नभई देशभरका शिवालय मठमन्दिरमा भक्तजनको भीड लागेको छ ।