आमा-बुबाको आशीर्वाद लिन गाउँतिर धाएँ।
दसैँको मालश्री धुन गुञ्जियो पाखा-पखाैरामा,
पुगियो आज आफ्नै आँगन, छायो खुसी परिवारमा
काठमाडौ—वर्ष दिनको प्रतीक्षा पछि आउने नेपालीहरूको महान् पर्व दसैं र तिहार नजिकिएसँगै रोजगारी र अध्ययनको सिलसिलामा घरबाहिर रहेका नेपालीहरू धमाधम घर फर्किन थालेका छन ।
परदेशमा पसिना बगाइरहेका हुन् वा गाउँ छाडेर शहरमा रोजगार अध्ययनको भविष्य खोजिरहेका युवा–युवती, दसैं र तिहारको उमङ्ग र उत्साह बोकेर आफ्नो जन्मभूमि फर्किनेको लहर छ ।
रोजगारीका लागि हङकङमा रहेका मुगुका धीरजंग शाही पनि यसपालि परिवारसँग दसैं मनाउन उमंग र खुशी बोकेर नेपाल फर्किंदै छन्।
मुगुको सोरु गाउँपालिका–६, स्थायी घर भएका शाही बिगत १२ बर्ष देखि रोजगारीको सिलसिलामा हङकङमा बस्दै आएका छन्। उनले पढाई पूरा गरेपछि रोजगारीको लागि हङकङ पुगेका हुन ।
शाहीका बुबाआमा पुख्र्यौली घर मुगुमै बस्दै आएका छन् भने श्रीमती र छोराछोरी काठमाडौंमा बस्दै आएका छन । रोजगारीका कारण परिवारबाट टाढा रहनुपरे पनि दसैं जस्तो पारिवारिक र सांस्कृतिक महत्व बोकेको महान पर्व दसैं तिहारमा आफ्ना प्रियजनसँग भेट्ने अवसरले लिएर फर्सि नेपाल फर्किने शाहीको भनाई छ ।
व्यस्त जीवन र परदेशको संघर्षबीच परिवारसँगै बसेर दसैं मनाउने चाहनाले यसपालि घर फर्किने यात्रा तय गरेको शाहीले बताए ।
विदेशमा रहेर रोजगारी गर्नु सहज छैन। आफ्नो देश, परिवार र गाउँबाट टाढा बसेर काम गर्नुका साथै विभिन्न जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ। तर शाहीले परदेशको व्यस्तताबीच पनि नेपाली समुदायसँगको सम्बन्धलाई उत्तिकै महत्व दिँदै आएका छन्।
हङकङमा आफ्नो दैनिक रोजगारीसँगै उनले त्यहाँ रहेका अन्य नेपालीहरूसँग समन्वय र सहकार्य गर्दै सुखदुःख साट्ने गरेका छन्। उनी हङकङ ठकुरी समाजको सचिव पदमा रहेर पनि नेपाली समुदायसँग जोडिएका गतिविधिमा सक्रिय छन्।
विदेशमा रहेर आफ्नो संस्कृति, पहिचान र सामुदायिक एकतालाई जोगाइराख्ने उनको प्रयासले प्रवासमा नेपालीपनको महत्वलाई उजागर गर्छ।
कामप्रति जिम्मेवार, हँसिलो स्वभावका र सहयोगी मन भएका शाही बिदाको समयमा घुमफिर गर्न रुचाउँछन्। उकाली–ओराली गर्दै नयाँ ठाउँको अवलोकन गर्नु उनको रुचि हो।
रोजगारीको व्यस्तताबीच पनि सामाजिक सम्बन्ध र व्यक्तिगत रुचिलाई सँगसँगै अघि बढाउने उनको जीवनशैलीले परदेशमा रहेका नेपालीहरूको संघर्ष र जीवनप्रतिको उत्साहलाई थप प्रतिबिम्बित बनाएको छ ।
दसैं नेपाली समाजमा टीका, जमरा र आशीर्वादको पर्व मात्र होइन, परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने अवसर पनि हो उनको भनाई छ ।
मुगुमा रहेका बुबाआमा, काठमाडौंमा बस्दै आएका श्रीमती र छोराछोरी तथा आफ्नो जन्मभूमिसँगको सम्बन्धले उनको दसैं यात्रालाई भावनात्मक बनाएको छ।
रोजगारीका लागि विदेशिएका र अध्ययन तथा कामको सिलसिलामा सहरमा बस्दै आएका हजारौँ नेपालीको साझा भावनासँग पनि यो जोडिएको छ।
चाडपर्वका बेला घर फर्किने चाहनाले भौगोलिक दूरीभन्दा पारिवारिक आत्मीयता र जन्मभूमिप्रतिको मोह बलियो हुने देखाउँछ।
विदेशमा रहेका नेपालीहरू स्वदेश फर्किने क्रमसँगै गाउँघर छाडेर सहरमा रोजगारी र अध्ययन गरिरहेका युवा–युवती पनि दसैं मनाउन आफ्नो थातथलो फर्किन थालेका छन्।
लामो समयदेखि परिवारबाट टाढा रहेका उनीहरूका लागि दसैं घरपरिवारसँग भेटघाट गर्ने, आफन्तसँग सम्बन्ध नवीकरण गर्ने र गाउँको वातावरणमा रमाउने अवसर बनेको छ।
यतिबेला गाउँघरमा दसैंको रौनक बढ्न थालेको छ भने सहरमा मानिसहरूको चहलपहल क्रमशः घट्दै गएको अनुभूति हुन थालेको छ। गाउँ फर्किनेको चापसँगै पारिवारिक भेटघाट, आफन्तसँगको जमघट र चाडपर्वको तयारीले यति ग्रामीण बस्तीहरूमा चहलपहल देखिन थालेको छ ।
प्राय सुनसान देखिने मुगु गमगढी बजार क्षेत्र हिजोआज निकै चहलपहल बढेको मुगु पत्रकार महासंघका संस्थापक अध्यक्ष बिनोद कुमार मल्लले सुनाए । दसैं तिहार पर्व मनाउन शहर बाट युवायवतीहरु गाउ“ आएपछि चहलपहल बढेको उनको भनाई छ ।
काम र अवसरको खोजीमा जहाँ पुगे पनि चाडपर्वका बेला आफ्नो गाउँ, घर र परिवारको सम्झनाले तान्ने नेपालीहरूको परम्परा यस वर्ष पनि दोहोरिएको छ। विदेशमा रहेका नेपाली हुन् वा देशभित्रै सहरमा संघर्ष गरिरहेका युवा–युवती, दसैं सबैका लागि घर फर्किने र आफ्नोपन महसुस गर्ने अवसर बनेको छ।
गाउँघरमा बढ्दो चहलपहल र सहरबाट गाउँतर्फ फर्किनेको लर्कोले चाडपर्वको महत्वलाई थप उजागर गरेको छ। अन्ततः दसैंको वास्तविक खुसी महँगो उपहार वा भव्य उत्सवमा मात्र होइन, परिवारसँग बिताएका अमूल्य क्षण, आफन्तको आत्मीयता र आफ्नो माटोसँग पुनः जोडिन पर्वको रुपमा दसैं तिहार मानिएको छ ।