काठमाडौ —उच्च हिमाली क्षेत्रमा भएको भारी र हिमपातका कारण अवरुद्ध बनेका हुम्लाका प्रमुख नाका हिउँ पन्छाउने काम तीव्र पारिएको छ। ४,३०० मिटर उचाइमा रहेको नारा पास र ५,०१० मिटरको उच्च उचाइमा रहेको न्यालु पासमा सडक खुलाउने कार्य अघि बढेको छ ।
न्यालु पासपारि रहेको नाम्खा गाउँपालिका वडा नं. ६ का बासिन्दाका लागि यो सडक केवल आवतजावतको माध्यम मात्र नभई जीवनरेखा (लाइफलाइन) नै हो। कठ्याङ्ग्रिँदो जाडोयाम सुरु भएसँगै त्यस क्षेत्रका नागरिकका लागि आवश्यक खाद्यान्न, नुन, तेल तथा दैनिक उपभोग्य सामग्री समयमै पु¥याउन सडक सञ्जाल सञ्चालन हुनु अत्यावश्यक मानिन्छ।
हिउँले बाटो छेकिँदा दुर्गम गाउँका नागरिकले भोग्नुपरेको सास्तीलाई ध्यानमा राख्दै नाम्खा गाउँपालिकाले आफ्नै डोजर परिचालन गरेको छ। डोजर सञ्चालनका लागि आवश्यक पर्ने डिजेल भने संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपलब्ध गराएको हो। मन्त्रालयको यो सहयोगले सडक छिटो खुलाउन र हिउँपारि रहेका नागरिकसम्म अत्यावश्यक सामग्री समयमै पु¥याउन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ।
यसैबीच, हुम्ली नागरिकको समस्यालाई गम्भीरतापूर्वक लिई शीघ्र पहल गरिदिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाले सम्बद्ध निकाय र नेतृत्वप्रति आभार व्यक्त गरेको छ। रास्वपा हुम्लाका तर्फबाट सडक विभागका महानिर्देशक, मन्त्रालयका सचिव र विशेष गरी भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।
रास्वपा हुम्लाका प्रतिनिधि टासी लाजोमका अनुसार हुम्ला भौगोलिक रूपमा टाढा भए पनि यहाँका नागरिक राज्यको नजरबाट कहिल्यै टाढा हुन नहुने धारणा व्यक्त गरेकी छन ।
विकासको उज्यालो सुगम सहरमा मात्र सीमित नभई राज्यको पहुँचबाट टाढा रहेका अन्तिम बस्तीसम्म पुग्नुपर्नेमा उनको भनाई छ ।
“राज्यको उपस्थिति त्यतिबेला मात्र सार्थक हुन्छ, जब सबैभन्दा दुर्गम ठाउँमा बस्ने नागरिकले पनि आफूलाई एक्लो र उपेक्षित महसुस गर्नुपर्दैन,“ टासी लामोजले भनेकी छन“भौगोलिक विकटताकै कारण हुम्लाका कुनै पनि नागरिक आधारभूत आवश्यकता र राज्यको सेवा सुविधाबाट वञ्चित हुन नपरोस् भन्नेमा हामी निरन्तर प्रतिबद्ध छौ ।।