’मुगु —कर्णाली प्रदेश अन्त्र्रगत हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।आर्थिक वर्ष २०८२÷८३ का लागि गाउँपालिकाभित्रका शुन्य देखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वय तथा मातहतका स्वास्थ्य संस्थाहरूको सक्रियतामा ६ वटै वडाका लक्षित उमेर समूहका बालबालिकालाई पूर्ण खोप सेवा प्रदान गरिएपछि आवश्यक मापदण्ड पूरा भएको स्वास्थ्य शाखा प्रमुख सागर लामाको भनाई छ । लामाका अनुसार गाउँपालिकाभित्रका सबै शुन्य –५९ महिनाका बालबालिकाले नियमित खोप प्राप्त गरेपछि विभिन्न चरणको प्रमाणीकरण प्रक्रिया पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।
गाउँपालिका अध्यक्ष तथा गाउँपालिका खोप समन्वय समितिका संयोजक प्रेम लामाले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नु मात्र उपलब्धि नभई त्यसलाई दिगो रूपमा कायम राख्नु अझ महत्वपूर्ण जिम्मेवारी भएको बताउनु भयो ।बताए। उनले आगामी दिनमा पनि सबै सरोकारवाला निकाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदाय अभियानमुखी रूपमा लाग्नुपर्ने अध्यक्ष लामाले बताए ।
विगतको तुलनामा अभिभावकमा स्वास्थ्यसम्बन्धी चेतना वृद्धि भएकाले बालबालिकालाई नियमित खोप लगाउने दरमा उल्लेखनीय सुधार आएको र आमाबुवाको बढ्दो स्वास्थ्य सचेतनाले पूर्ण खोप सुनिश्चितता अभियान सफल भएको अध्यक्षको भनाई छ ।