काठमाडौ —कर्णाली प्रदेशको पत्रकारिताको इतिहास, वर्तमान अवस्था र चुनौतीहरूलाई समेटेर तयार पारिएको कर्णालीको पत्रकारिता नामक पुस्तक आज सार्वजनिक गरिएको छ । प्रेस काउन्सिल नेपालको सहयोगमा उक्त पुस्तक तयार गरी प्रकाशनमा ल्याइएको हो । कूल १७२ पृष्ठ रहेको यस पुस्तकको लेखन तथा तथ्यांक संकलन पत्रकारद्वय प्रकाश अधिकारी र नवराज महताराले गरेका छन । पुस्तकका प्रधान सम्पादक प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बालकृष्ण बस्नेत रहनुभएको छ
त्यस्तै, पुस्तकको सम्पादन मण्डलमा झविन्द्र भुसाल र दीपक खनाल रहनुभएको छ भने लक्ष्मी पौडेलले सम्पादन सहयोग र गोपाल तिवारीले भाषा सम्पादन गर्नु भएको छ।
कर्णाली क्षेत्रको आमसञ्चार क्षेत्रलाई नजिकबाट अध्ययन गरी तयार पारिएको यस पुस्तकमा मुख्य गरि कर्णालीमा पत्रकारिताको सुरुआत र छापाखानाको विकासक्रम, वर्तमान अवस्था र प्रदेशमा पत्रकारिताको आधुनिक स्वरूप, सञ्चारमाध्यमको स्थिति र सामाजिक सञ्जालको प्रयोग उल्लेख गरिएको छ । त्यसै गरि पुस्तकमा कर्णाली प्रदेशमा नेपाल पत्रकार महासंघ तथा पत्रकारहरूको समग्र अवस्था पत्रकार आचारसंहिता कार्यान्वयनको स्थिति, मोफसलमा पत्रकारिता गर्दा भोग्नुपरेका व्यावहारिक तथा प्राविधिक चुनौतीलाई समाबेश गरिएको छ ।
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, बरिष्ठ प्रशासकिय अधिकृत तथा प्रबक्ता दीपक खनालले लामो अथक प्रयासमा कर्णालीको पत्रकारिता तयार गरिएको बताउनु भयो ।
कर्णालीको पत्रकारिताको समग्र दस्तावेजका रूपमा आएको यो पुस्तक माथि कार्यक्रममा सहभागीहरुले समिक्षा तथा सुझाव सल्लाह दिएका छन ।
प्रेस काउन्सिल नेपालका पूर्ब अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका पूर्ब कार्यकारी अध्यक्ष समिरजंग शाह, पत्रकार नवराज महत्तारा, रुद्ध खडका, मनऋषि धिताल, लेखक मानबहादुर रोकाया, राजनीतिक बिश्लेषक हरिहर न्यौपानेले पुस्तकको महत्व, कमी कमजोर र आगामी दिनमा सुधार गरि पुस्तकलाई अझ पठनिय योग्य बनाउन काउन्सिललाई सुझाव दिएका छन ।