मुगु—चंखेली लेक बाट राराको अवलोकन गर्न सकिन्छ । जिल्ला स्थित छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँको चंखेली लेक आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । सार्बजनिक बिदाको समय र कुनै मेलापर्वमा जिल्ला भित्र र बाहिरका आन्तरिक पर्यटकहरु चंखेली लेकतिरको यात्रा गर्न थालेका छन ।
ग्रामिण पहुँच कार्यक्रमले गमगढी हुम्ला दार्म सम्मको सडक निर्माण गरेपछि आन्तरिक पर्यटकहरु जीप मोटर साइकल गाडी पजेरो मार्फत समुद्री सतह देखि ४२ सय मिटर उचाइमा रहेको चंखेली लेक चढन जाने गरेका छन । उहीले देखि नै चंखेली हिमाल नभनेर लेक भनेर चिन्ने गरिएको छ
बिगत बर्षहरुमा बाम गाउँका गाई भैसी र भेडाबाख्रा चराउने युवाहरु मात्र चंखेली लेक उक्लिने गर्थे भने सडक बनेपछि जिल्लामा कार्यरत सरकारी तथा गैसस कर्मचारी शिक्षक बिधार्थी राजनीतिक संगठन युवाकर्मीहरु सवारी साधन लिएर चंखेली लेकमा पुगेर रमाउन थालेका छन पछिल्लो दुई बर्ष यता चंखेली लेक आन्तरिक पर्यटकको रोजाइमा परेको नगरपालिका–१४ बाम गाउँका वडाअध्यक्ष जुनबहादुर खडकाले बताए । नयाँ बर्षको दिनमा करिव ३ सय भन्दा बढी आन्तरिक पर्यटक चंखेली लेक उक्लेर हिमाल अबलोकन गरेको उनको भनाई छ ।
प्राय जसो देखि एक दर्जन आन्तरिक पर्यटक चंखेली हेर्न जाने गरेका छन । सवारी साधन मार्फत गमगढी देखि चंखेली लेकको फेदी सम्म पुग्न करिव तीन घण्टा समय लाग्ने गरेको छ ।
चंखेलीको फेदीमा सवारी साधन छोडेर माथि चुचुरामा पुग्न आन्तरिक पर्यटकलाई २ घण्टा ४५ मिनेट समय लाग्ने गरेको छ ।
चंखेली लेकको टुप्पोमा पुगेपछि शैपाल हिमाल, रारा ताल, मुगुको ऋणीमोक्ष र छायाँनाथ र हुम्ला, बाजुरा जुम्लाको अग्ला हिमश्रृङखला रमणीय हिमालको दृष्य अबलोकन गर्न सकिने नेबिसंघ मुगुका अध्यक्ष सोबिन्द्रबहादुर मल्लले बताए । रारा घुम्न आउने पर्यटकहरु चंखेली लेक अवलोकन गराउन आबश्यक देखिएको उनको भनाई छ
दिउसो भन्दा बिहान ६ बजे देखि उक्त लेक चढन उपयुक्त समय मानिने गरेको छ । हिउसो हावाहुरी लाग्ने भएकोले बिहान ६ बजे लेक उक्लेर १२ देखि १ बजे भित्र तल ओर्लि सक्नु पर्ने स्थानीयको भनाई छ ।
आन्तरिक पर्यटकहरु चंखेलीको टुप्पोमा पुगेपछि निकै रमाउने फोटो सेल्फी खिच्ने टिकटक नाचगान गर्ने र बोकेर लिएको खाने कुरा खाए पनि करिव दुई घण्टाको बसाई गरेर फर्किने गरेका छन । गमगढी देखि चंखेली लेक सम्म पुग्न सडक मार्ग पनि उत्तिकै रमाइलो छ । चैत देखि बेशाख अन्तिम सम्म सडकको तलमाथि लालीगुराँस फुल ढकमक्क फुलेर यात्रा निकै आनन्दमय हुने गरेको छ । चंखेली लेक आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेपछि मुगु कर्णाली नदी र लुमखोलाका माछा स्याउ, सिमी , चुली आरु पनि आन्तरिक पर्यटकको रोजाइमा परेका छन ।