मुगु —घुमौँ कर्णाली, हेरौँ कर्णाली र “जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र“ भन्ने मूल नाराका साथ आयोजना गरिएको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन सल्यानको प्रसिद्ध पर्यटकीय स्थल कुपिण्डे दहमा विशेष कार्यक्रम गरिएको छ । सुर्खेतबाट सुरु भएको यो महोत्सवले कर्णालीको कला, संस्कृति र पर्यटनलाई चलचित्रको माध्यमबाट विश्व बजारमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
चलचित्र पर्यटनको नयाँ गन्तव्यः कुपिण्डे दह
कर्णालीलाई चलचित्र छायांकनको ’हब’ बनाउने र स्थानीय तहसँग सहकार्य गरी छायांकन स्थलहरूको पहिचान गर्ने अभियानअन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो। सल्यान जिल्लाका प्रतिनिधि सभा सदस्य रमेश मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, वन वातावरण तथा उद्योग पर्यटन मन्त्री सुरेश अधिकारी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष उपस्थिति रहेको थियो।
महोत्सवका मुख्य आकर्षण र छलफल
महोत्सवमा चलचित्र निर्माता, लेखक र निर्देशकहरूले कर्णालीको प्राकृतिक सौन्दर्य र मौलिक संस्कृति चलचित्रको कथाका लागि उत्कृष्ट स्रोत भएको बताए। कार्यक्रमका केही महत्वपूर्ण पक्षहरू यस प्रकार छन्ः
१ स्थानीय सक्रियताः बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको विशेष पहल र सक्रियतामा यो महोत्सव सम्पन्न भएको हो। उहाँले चलचित्र छायांकनका लागि आउने टोलीलाई स्थानीय तहबाट पूर्ण सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
२ सरकारी नीतिः प्रदेश सरकारले चलचित्र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै कर्णाली प्रज्ञा प्रतिष्ठानमार्फत छायांकनका लागि आउने निर्माताहरूलाई विशेष प्रोत्साहन गर्ने घोषणा गरिसकेको छ।
३ विकास बोर्डको योजनाः चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कर्णालीलाई अन्तर्राष्ट्रिय सुटिङ हब बनाउन सबै पक्ष जुट्नुपर्नेमा जोड दिनुभयो।
४ सांस्कृतिक प्रस्तुतिः स्थानीय कलाकारहरू सपना शाही, संगीता बढुवाल लगायतले आफ्नो कला प्रदर्शन गरी महोत्सवलाई थप रौनक प्रदान गरेका थिए।
सहभागिता र दीर्घकालीन योजना
महोत्सवमा चलचित्रकर्मीहरू सन्तोष सेन, विकास सुवेदी, र प्रेम पुरी लगायतको सहभागिता रहेको थियो भने महोत्सवको सल्लाहकारका रूपमा पूर्व रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले भूमिका निर्वाह गर्नुभएको थियो।
महोत्सवको दीर्घकालीन योजना कर्णालीलाई अन्तर्राष्ट्रिय सुटिङ हब बनाउने, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र चलचित्रका माध्यमबाट जलवायु परिवर्तनको सन्देश जनस्तरमा पु¥याउने रहेको छ। यस वर्ष विशेष आकर्षणको रूपमा ’चलचित्र कथा प्रतियोगिता’ को समेत घोषणा गरिएको छ ।