काठमाडौं – नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न भारतले सहयोग गर्ने भएको छ। साथै, राष्ट्रिय तथा प्रादेशिकस्तरमा क्रिकेट पूर्वाधार विस्तारका लागि पनि भारतले सहकार्य गर्ने सहमति जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा सार्वजनिक गरिएको नेपाल–भारत संयुक्त भिजन डकुमेन्टमा खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै यस्तो सहकार्य गर्ने उल्लेख गरिएको हो।
क्रिकेटसँगै ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्सजस्ता खेलमा पनि नेपाली खेलाडीलाई भारतमा प्रशिक्षणको अवसर उपलब्ध गराउने विषयमा दुवै देशले सम्भावना खोज्ने भएका छन्। त्यस्तै, नेपालमा आधुनिक बहुखेलकुद केन्द्र निर्माण गर्ने सम्भावनाबारे पनि अध्ययन तथा सहकार्य गरिने संयुक्त दस्तावेजमा उल्लेख छ।