म जन्मँदा
आकाशले जात सोधेन,
घामले किरण छुट्याएन,
हावाले सास फेर्न कर लगाएन।
तर मान्छेले—
मेरो निधारमा कालो अक्षरले लेखिदियो,
“तँ दलित होस्।“
त्यस दिनदेखि
मेरो नामभन्दा अगाडि
तिरस्कारको काँडेतार उभियो,
र मेरो पाइला
आफ्नै देशको बाटोमा
परदेशीझैँ हिँड्न बाध्य भयो।
मैले पनि ढुंगा बोकेँ,
पसिना चुहाएँ,
र आफ्नै हातले मन्दिर उठाएँ।
तर जब घण्टी बजाउन हात बढाएँ,
ढोकाले मेरो स्पर्शसँगै
आफ्नो आत्मा बन्द गरिदियो।
देवताका आँखा मौन रहे,
मानौँ मूर्तिभित्रको भगवान् पनि
जातको साङ्लोले बाँधिएको थियो।
मेरा सपनाहरू
गुँड खोज्दै उड्ने चराजस्ता थिए,
तर सहरका प्रत्येक घरले भन्यो—
“तिम्रो जात यहाँ अट्दैन।“
भाडाको कोठा
मेरो नाम सुन्नासाथ
भित्ताले ढोका बन्द ग¥यो,
र रातभरि
मेरो निद्रा चिसो सडकको सिरानी बन्यो।
रोजगारको ढोकामा
मेरो सीप होइन,
मेरो थर तौलियो।
मेरा हातमा सीपको उज्यालो थियो,
तर उनीहरूका आँखामा
जातको अन्धकार बाक्लो थियो।
त्यसैले
मेरो भविष्यलाई
धुवाँको अक्षरमा लेखियो।
आमा भन्थिन्—
“छोरा, आँसु लुकाएर हिँड।“
तर कसरी लुकाऊँ?
जब हरेक बिहान
मेरो आत्माभित्र
अपमानको काग बास बस्छ,
र हरेक साँझ
आशाको दियो
भेदभावको आँधीले निभाइदिन्छ।
मेरो रगत पनि रातै छ,
तर उनीहरूका नजरमा
मेरो छाया नै अपराध बन्यो।
मेरो स्पर्शलाई विष ठानियो,
मानौँ म मान्छे होइन,
कुनै अनन्त अभिशाप हुँ।
हे समाज!
तिमीले मलाई मन्दिरबाट हटायौ,
तर मेरो प्रार्थना हटाउन सकेनौ।
तिमीले मलाई घरबाट हटायौ,
तर मेरो आकाश खोस्न सकेनौ।
तिमीले मलाई रोजगारीबाट हटायौ,
तर श्रम गर्ने हात काट्न सकेनौ।
आज पनि
मेरो आँखाको परेलीमा
हजारौँ वर्षको पीडा ओस बनेर अडिएको छ।
यदि त्यो ओस एकैपटक झरिदियो भने,
यो धरती नै
लाजले भिज्नेछ।
त्यो दिन
मानवताको मन्दिरमा
घण्टी होइन,
मेरा आँसु बज्नेछन्।
र इतिहासले लेख्नेछ—
“सबैभन्दा ठूलो पाप
कसैको जात होइन,
मान्छेलाई मान्छे मान्न नसक्नु थियो।“
लेखक बेगम थापा निश्चल