शनिबार, अशोज ३, २०८३
शनिबार, अशोज ३, २०८३
  • होमपेज
  • मनोरञ्जन
  • शनिवारिय कविता,म कालो बोर्डको उज्यालो सपना हुँ

शनिवारिय कविता,म कालो बोर्डको उज्यालो सपना हुँ

  • शनिबार, अशोज ३, २०८३
शनिवारिय कविता,म कालो बोर्डको उज्यालो सपना हुँ

म गुरु हुँ —
विद्यार्थीको हात समाएर भविष्य लेखिदिने,
भित्तामा टाँसिएको अक्षरजस्तै स्थिर,
तर भित्रभित्रै आँधी झैं चलायमान।

म पर्खालमा टाँसिएको सरकारी सूचना हुँ,
जसले भन्छ —
“तलब साउनदेखि रोकिएको छ“,
तर म भने भोकभित्र शिक्षाको दीप जलाइरहेछु।

म गाउँको त्यो पुरानो स्कुल हुँ,
जहाँ आँपको बोट मुनि म पढाउँछु गणित,
अनि वर्षा लागेपछि भिज्दै पढाउँछु
‘देशको माया’ — किनकि पाठ्यक्रममा छैन, तर हृदयमा छ।

सरुवा ?
मैले दशपटक निवेदन लेखें —
जसरी मैले विद्यार्थीलाई दसपटक लेख्न सिकाएँ,
“म देशको इमानदार नागरिक हुँ“।

बढुवा ?
म अझै त्यो पुरानै तहमा छु,
जसरी म सधैं पुरानै जुत्ता लगाएर
नयाँ सपना देखाउँछु।

तर हेर —
यी बालबालिकाको आँखामा जुन सपना छ,
त्यो म हुँ।
यी अक्षरहरु जो इतिहास बन्नेछन्,
त्यो म हुँ।

म केवल पाठ सिकाउँदिनँ —
म देश पढाउँछु।
म सीमानामा लड्दिन—
तर सीमाभित्रको चेतना सजाउँछु।

तिमी मलाई तलबमा ननाप,
किनकि म आत्मामा बाँच्दछु।
तिमी मलाई पदमा नतौल,
किनकि म सन्तानको भविष्य तौल्दछु।

म शिक्षक हुँ —
धेरैले बिर्सिने,
तर देश बिर्सन नसक्ने एउटा नाम।

                          बेगम थापा निश्चल

चर्चामा

सम्बन्धित समाचार