काठमाडौ —भक्तपुरकी आरती न्यौपानेले निजामति सेवामा नया इतिहास रचेकी छन । ३१ वर्षमै सहसचिव बनेर इतिहास रच्न सफल भएकी छन । नेपाल प्रशासन सेवामा कम उमेरमै सहसचिव बन्ने आरती न्यौपाने हुन । २०५१ साउन २० गते जन्मिएकी न्यौपाने ३१ वर्षकै उमेरमा सहसचिव भएकी छन ।
खुला महिला प्रतिस्पर्धाबाट सहसचिव बनेकी उनी सम्भवतः सबैभन्दा कम उमेरमा उक्त पदमा पुग्ने पहिलो कर्मचारी बनेको जानकारको भनाई छ ।
आरतीले २०७५ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । सेवा प्रवेश गरेको सात वर्षमै उनले सहसचिवको प्रतिस्पर्धा पार गरेकी छन । पाँच वर्षमै उपसचिव बनेकी आरती २०८० सालमा उपसचिव पदमा पुगेकी थिइन् भने अहिले सहसचिव बन्न सफल भएकी छन ।
शैक्षिक रूपमा उनले २०७३ सालमा स्नातक पूरा गरेपछि जेनेवा बिजनेस स्कुलबाट ‘मास्टर्स इन इन्टरनेसनल म्यानेजमेन्ट’ अध्ययन गरेकी थिइन् । आरतीका बुवा शिवराम न्यौपाने पनि सहसचिव पदबाट अवकाश प्राप्त कर्मचारी हुन् । बुवाको प्रेरणाबाट आफू निजामती सेवातर्फ आकर्षित भएको आरतीको भनाई छ ।