मुगु — मुगु सोरु गाउँपालिका–१ स्थित जवलधारा गाउँका ९६ वर्षीय नन्दबहादुर शाहीको बिहिबार साझ ७ बजे निधन भएको छ । जिल्लाकै ज्येष्ठ नागरिकका रूपमा परिचित शाहीको निधनले गाउँमा शोक छाएको छ । पञ्चायतीकाल देखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका शाहीको निधनले गाउँलेले एक अनुभवी समाजसेवी अभिभावक गुमाएको बताएका छन ।
शाही स्थानीय समुदायमा आफ्नो सरल जीवनशैली, सामाजिक व्यवहार र अनुभवका कारण परिचित थिए । झण्डै एक शताब्दी लामो जीवन बिताएका उनले मुगुको सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनलाई नजिकबाट देखेका थिए ।
गाउँको पुरानो पुस्तादेखि पछिल्लो पुस्तासम्मका मानिससँग उनको निरन्तर सम्पर्क रहन्थ्यो । उमेरले सय वर्षको नजिक पुगे पनि उनी स्थानीय विषयमा चासो राख्ने मानिससंग सम्र्पक सदभाव राख्ने आफनो अनुभव साट्ने व्यक्तिका रूपमा परिचित थिए ।
शाही पञ्चायती शासनकालमा गाविसतहको नेतृत्वमा समेत सक्रिय थिए । उनले तत्कालीन समयमा प्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए । गाउँको विकास, सामाजिक झै झगडामा मेलमिलाप समन्वय समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
प्रधानपञ्चका रूपमा काम गर्दा गाउँका विभिन्न सामाजिक गतिविधिमा सहभागी भएका शाहीले स्थानीय समुदायलाई मिलाएर अघि बढाउन भूमिका निर्बाह गरेका थिए ।
सामाजिक गतिविधिका प्रत्यक्ष साक्षी रहेका शाहीसँग मुगुको पुरानो अवस्थाबारे महत्वपूर्ण अनुभव र स्मृति थियो। त्यसैले उनको निधनलाई स्थानीयवासीले एउटा व्यक्तिको निधन मात्र नभई एउटा पुस्ताको अनुभव र इतिहाससँग जोडिएको क्षतिका रूपमा लिएका छन ।
९६ वर्षको उमेरमा भएको उनको निधनसँगै जवलधारा गाउँले आफ्नो एक ज्येष्ठ अभिभावक गुमाएको छ। शाहीको निधन प्रति गहिरो दुःख ब्यक्त गर्दै जिल्लाका बिभिन्न क्षेत्रमा ब्यक्तिहरुले उहाप्रति समबेदना ब्यक्त गरेका छन ।