काठमाडौ —कर्णालीको पर्यटन प्रर्बद्धन लोक सांस्कृतिको संरक्षण हाम्रो अभियान भन्ने नाराका साथ कर्णाली पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३ आयोजना गरिने भएको छ । भोली शनिबार अर्थात जेठ २३ गते शनिबार भुकुटीमण्डप स्थित नेपाल पुलिस क्लबमा उक्त महोत्सव आयोजना गरिने भएको छ ।
नरहरिनाथ गाउँपालिका, कालिकोट र कर्णाली कलाकार प्रतिष्ठान, काठमाडौंको संयुक्त आयोजनामा हुन लागेको यस महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको आयोजकले जनाएको छ ।
उक्त महोत्सवमा कर्णाली प्रदेशका दश जिल्लाहरू—कालिकोट, मुगु, जुम्ला, हुम्ला, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र सुर्खेत का मौलिक कला, संस्कृति, भेषभूषा, परम्परा र जीवनशैली झल्काउने विविध संस्कृतिक प्रस्तुत गरिने आयोजक सदस्य सपना शाहीले जानकारी गराउनु भयो ।
सपनाका अनुसार विभिन्न जिल्लाका कलाकार तथा सांस्कृतिक समूहहरूले स्थानीय लोकनृत्य, लोकगीत, देउडा, झ्याउरे, पञ्चेबाजा चम्पा नाच, मागल, हुड्के नाच लगायत परम्परागत सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ ।
महोत्सवमा कर्णालीको अर्गानिक खाद्यान्न बाली तथा कृषि उपजहरूको प्रदर्शनी समेत गरिनेछ। जुम्लाको, मार्सी धान, फापर, सिमी, ओखर, जडीबुटी, स्थानीय कोदो, चिनो, कागुनो लगायतका अर्गानिक उत्पादनहरू प्रदर्शनीमा राखिने महेन्द्र मल्लको भनाई रहेको छ ।
यस कार्यक्रमले कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप परिचित गराउँदै स्थानीय अर्थतन्त्र, संस्कृति र पर्यटन उद्योगलाई टेवा पु¥याउने अपेक्षा गरिएको सपनाले बताइन ।
आयोजक संस्थाले कर्णाली प्रेमी, पर्यटन व्यवसायी, संस्कृति अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा सर्वसाधारणलाई महोत्सवमा सहभागी भई कर्णालीको मौलिक पहिचान प्रवद्र्धन गर्न आग्रह समेत गरेको छ ।