काठमाडौ —बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले महत्वपूर्ण ९ निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेल अनुसार सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ ।
सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का धनकुटालाई नियुक्त गर्ने निर्णय गरेको पोखरेलले बताए ।
प्रवक्ता सस्मित पोखरेलका अनुसार गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ भने सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ ।
यसैगरी शिक्षा १०औं संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने र कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ ।
सरकारले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने, एग्रिमेण्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोण्ड नेसनल जुरिसडिक्सनलाई अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
सरकारले राष्ट्रिय सदाचार नीति, २०८३ स्वीकृत गर्नुका साथै राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गरेको छ ।