काठमाडौं – नेपालीको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज भाइटीका हर्षोल्लासका साथ मनाइँदै छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएर भाइटीका पर्व मनाउने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीका लगाउनका लागि आज बिहान ११ बजेर ७ मिनेटको समय उत्तम साइत रहेको छ । समितिले टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका लगाइमाग्ने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने जनाएको छ ।
भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै परम्पराअनुसार टीका लगाइदिने चलन छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा रहेको छ । धार्मिक मान्यताअनुसार दिदीबहिनीको पूजा गर्नाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ ।
यस अवसरमा दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले घेरेर पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहिर्याइदिने प्रचलन छ । तिहारमा सप्तरङ्गी टीका लगाउने चलन व्यापक भए पनि धर्मशास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।
भाइटीकाका दिन दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार कपडा, दक्षिणालगायत सौभाग्यका सामग्री प्रदान गरी सम्मान र स्नेह प्रकट गर्ने धार्मिक तथा सामाजिक परम्परा छ । दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयता प्रगाढ बनाउने भाइटीका नेपाली समाजमा विशेष महत्त्व बोकेको पर्वका रूपमा मनाइँदै आएको छ ।