सोमवार, कार्तिक २४, २०८३
सोमवार, कार्तिक २४, २०८३
  • होमपेज
  • News
  • तिहारको चौथो दिन आज गाईपूजा मनाइँदै

तिहारको चौथो दिन आज गाईपूजा मनाइँदै

  • सोमवार, कार्तिक २४, २०८३
तिहारको चौथो दिन आज गाईपूजा मनाइँदै

काठमाडौँ — नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ। गाईलाई गौमाताका रूपमा सम्मान गर्दै पूजा गर्ने धार्मिक तथा सांस्कृतिक चलन रहिआएको छ। गाईले दिने दूध आमाको दूधसरह पोषिलो हुने विश्वासका कारण पनि हिन्दू धर्मावलम्बीले गाईलाई विशेष सम्मान गर्ने गरेका छन्।

गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले धार्मिक, सांस्कृतिक तथा व्यावहारिक दृष्टिले समेत यसको विशेष महत्व रहेको छ। धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी फूलमाला लगाउने, टीका लगाउने तथा मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास गरिन्छ।

नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गर्ने परम्परा रहेको छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परासमेत निर्वाह गर्दै आएका छन्।

पछिल्लो समय सहरी क्षेत्रमा गाईको अभाव बढ्दै गएपछि गाईको प्रतीकात्मक पूजा गर्ने तथा सङ्कल्प गरेर रकम राख्ने चलन बढ्दै गएको धर्मशास्त्रविद्हरू बताउँछन्। धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतमका अनुसार गाई उपलब्ध नभएको अवस्थामा सङ्कल्प गरी रकम राख्ने प्रचलन बढेको छ। गाईलाई राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ। गाईपूजाले धार्मिक आस्था, परम्परा र मानव तथा पशुबीचको सम्बन्धलाई उजागर गर्ने विश्वास गरिन्छ।

 

चर्चामा

सम्बन्धित समाचार