शनिबार, कार्तिक २२, २०८३
शनिबार, कार्तिक २२, २०८३
  • होमपेज
  • News
  • कर्णालीमा बालमृत्युदर कुपोषण बालविवाह न्यूनीकरणका लागि संघीय सरकारसंग बजेट माग

कर्णालीमा बालमृत्युदर कुपोषण बालविवाह न्यूनीकरणका लागि संघीय सरकारसंग बजेट माग

  • शनिबार, कार्तिक २२, २०८३
कर्णालीमा बालमृत्युदर कुपोषण बालविवाह न्यूनीकरणका लागि संघीय सरकारसंग बजेट माग

मुगु —कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशमा विद्यमान बालमृत्युदर, कुपोषण, पुड्कोपना र बालविवाहजस्ता समस्या न्यूनीकरणका लागि बिशेष कार्यक्रम संचालन गर्न संघीय सरकारसंग थप बजेटको माग गरेका छन ।
शुक्रबार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीबीच भएको भेटवार्तामा उक्त बिषयमा छलफल भएको हो । भेटमा प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल पनि सहभागी रहेका थिए ।मुख्यमन्त्री शाहीले किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्दै प्रदेशका सामाजिक तथा स्वास्थ्य सूचक सुधारका लागि संघीय सरकारको विशेष पहल आवश्यक रहेको बताउनु भयो ।

उहाँले महिला, बालबालिका तथा सीमान्तकृत समुदायका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच साझा जिम्मेवारी र प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै लक्षित समुदायको आवश्यकता सम्बोधन हुने गरी नीति, कार्यक्रम तथा बजेट केन्द्रित गर्नुपर्ने बताउनुभयो।
छलफलको क्रममा मन्त्री बादीले कर्णाली प्रदेशको समग्र विकास तथा सामाजिक सूचक सुधारका लागि संघीय सरकार प्रदेश सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले प्रदेशमा बालसुधार गृह स्थापनाका लागि आवश्यक पहल भइरहेको जानकारीसमेत गराउनुभयो।

भेटमा प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले गरिरहेका प्रयासबारे जानकारी गराउँदै संघीय सरकारको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो।
भेटवार्तामा महिला सशक्तीकरण, बालअधिकार संरक्षण, लैङ्गिक हिंसा न्यूनीकरण, सामाजिक सुरक्षा तथा समावेशी विकासका क्षेत्रमा तीनै तहका सरकारबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार