काठमाडौ —उज्यालो र फूलैफूलको पर्व तिहार पर्व सुरु भएसँगै बजारमा स्वदेशी फूलको आकर्षण देखिएको छ । सयपत्री, मखमली र गोदावरी फूलप्रति स्थानीयको रुचि बढ्न थालेपछि फूल उत्पादक किसान उत्साहित भएका छन ।
विगतमा तिहारका लागि ठूलो परिमाणमा विदेशी पलाष्टिकजन्य फूलमा निर्भर रहनुपर्ने अवस्था रहे पनि पछिल्लो समय स्थानीयले स्वदेशमै फूल उत्पादन गरि बजार पुरयाउन थालेका छन ।
घर, आँगन, मठमन्दिरदेखि कार्यालय र सार्वजनिक स्थलसम्म फूलले सजाउने परम्पराका कारण यस समयमा फूलको माग उच्च हुने गर्दछ। भाइटीकामा दाजुभाइलाई लगाइदिने माला, घर सजावट तथा लक्ष्मीपूजाका लागि सयपत्री र मखमली फूलको प्रयोग बढी हुने गरेको छ।
काठमाडौं उपत्यकासहित भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ नेपालगञ्ज, बर्दिया, कैलाली जिल्लामा उत्पादित फूलले स्थानीय बजारमा राम्रो स्थान बनाउन थालेका छन्।
स्वदेशी फूल लामो समयसम्म ताजा रहने, स्थानीय किसानको मेहनतको प्रतिफल हुने र आफ्नै उत्पादनको उपभोग गर्न पाइने भएकाले पनि यसको आकर्षण बढेको स्थानीयको भनाई छ ।
फूल व्यवसायीका अनुसार तिहारमा विशेषगरी सयपत्री फूलको माग उच्च हुन्छ। घर सजावट, माला निर्माण र पूजाआजामा यसको प्रयोग व्यापक हुने भएकाले बजारमा यसको कारोबार उल्लेख्य हुने गरेको छ। मखमली फूल पनि भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मालाका कारण विशेष महत्व राख्छ।
फूलखेती पछिल्लो समय किसानका लागि आम्दानीको राम्रो माध्यम बन्दै गएको छ। थोरै जमिनमा पनि व्यावसायिक रूपमा फूलखेती गर्न सकिने भएकाले कृषक यसतर्फ आकर्षित भएका छन्। बीउ तथा बिरुवा रोप्ने, गोडमेल गर्ने, सिँचाइ र रोगकीरा नियन्त्रण गर्ने काममा उनीहरूको ठूलो मेहनत खर्च हुन्छ। फूल फुल्ने समय र बजारको माग मिलाउन नसके किसानले आर्थिक क्षति बेहोर्नुपर्ने जोखिमसमेत रहन्छ।
स्वदेशी फूलको उत्पादन र उपभोग बढ्नु केवल किसानको आम्दानीसँग मात्र जोडिएको विषय होइन। यसले विदेशी फूलमाथिको निर्भरता घटाउनुका साथै स्थानीय स्तरमा रोजगारी र उद्यमशीलताको अवसरसमेत सिर्जना गर्छ।
फूल उत्पादनदेखि टिपाइ, माला उन्ने, प्याकेजिङ, ढुवानी र बिक्रीसम्म विभिन्न चरणमा धेरै मानिस संलग्न हुन्छन्। विशेषगरी महिला तथा साना उद्यमीका लागि फूल व्यवसाय आम्दानीको राम्रो अवसर बन्न सक्छ।
माग बढी हुने समयमा मूल्य बढ्ने र माग घटेपछि फूल बिक्री नभई खेर जाने समस्या समाधान गर्न व्यवस्थित बजार प्रणाली आवश्यक छ।
तिहार केवल धार्मिक तथा सांस्कृतिक पर्व मात्र होइन, नेपाली कृषि उत्पादन र स्थानीय उद्यमलाई प्रोत्साहन गर्ने अवसर पनि हो। आफ्नै माटोमा फुलेका फूलले तिहारको सौन्दर्य बढाउनुका साथै किसानको पसिना र मेहनतलाई सम्मान गर्ने अवसर प्रदान गर्छन्।
स्वदेशी फूलको प्रयोग बढाउनु भनेको स्थानीय उत्पादनलाई बजार दिनु, किसानको आम्दानी बढाउनु र राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउनु पनि हो। तिहारलाई लक्षित गरि काठमाडौ महानगरपालिकाले स्वदेशी फुल बिक्री बितरणमा प्रोत्साहन गरेको छ । महानगरले उपत्यकाको बिभिन्न स्थानमा स्वदेशी फुल बिक्री स्थान समेत निर्धारण गरेको छ ।