सोमवार, अशोज २६, २०८३
सोमवार, अशोज २६, २०८३
  • होमपेज
  • समाचार
  • नेपालीहरूको महान पर्व बडा दशैँ सुरु, घरघरमा विधिपूर्वक घटस्थापना गरिँदै

नेपालीहरूको महान पर्व बडा दशैँ सुरु, घरघरमा विधिपूर्वक घटस्थापना गरिँदै

  • आइतवार, अशोज २५, २०८३
नेपालीहरूको महान पर्व बडा दशैँ  सुरु, घरघरमा विधिपूर्वक घटस्थापना गरिँदै

काठमाडौ —नेपालीहरूको महान चाड बडा दशैँ आज (आश्विन शुक्ल प्रतिपदा) देखि औपचारिक रूपमा सुरु भएको छ। यस वर्षको बडा दशैँ आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिनसम्म विधिपूर्वक मनाइनेछ। बडा दशैँको पहिलो दिन आज घरघरमा शास्त्रीय विधिअनुसार कलश, जमरा र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ।
शुभ साइतः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा निर्धारित साइतअनुसार आज बिहान ११ बजेर ४८ मिनेटमा घटस्थापना गरिँदैछ। घटस्थापना प्रक्रियाः पूजा कोठा वा दसैं घरमा विधिपूर्वक शक्तिकी स्वरूपा देवी दुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिन्छ। बिहानै नित्यकर्म समाप्त गरी नजिकैको नदी वा खोल्साबाट ल्याइएको शुद्ध बालुवा वा माटोमा गाईको गोबरले लिपपोत गरी जौ (जमरा) रोप्ने चलन छ।

शास्त्रीय मान्यताः जौ अंकुर देवी दुर्गाको प्रिय वस्तु भएकाले जौ रोपेर दुर्गालाई ९ दिनसम्म विशेष पूजाआजा गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार शुभसाइतको समयमा नै घटस्थापना गर्नुपर्ने शास्त्रीय विधान रहेको छ। महाकाली, महालक्ष्मी र महासरस्वती को आह्वान गरी पूजा आराधना गरिन्छ। असुरी तथा राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने ९ वटा देवीका रूपहरू (नवदुर्गा) को निम्नानुसार पूजा गरिन्छःजस अनुसार प्रथम दिनः शैलपुत्री, दोस्रो दिनः ब्रह्मचारिणी, तेस्रो दिनः चन्द्रघण्ट चौथो दिनः कुष्माण्डा पाँचौं दिनः स्कन्दमाता छैटौं दिनः कात्यायनी सातौं दिनः कालरात्री आठौं दिनः महागौरी, नवौं दिनः सिद्धिदात्री

दसैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइनेछ भने महाअष्टमी र महानवमीको दिन बलि पूजा गर्ने परम्परा रहेको छ। रोजगारी, अध्ययन तथा विभिन्न सिलसिलेमा घर बाहिर वा देशविदेशमा रहेका नेपालीहरू बडा दशैँको अवसर पारेर आफ्ना परिवारका साथ समय बिताउन घर फर्कने गर्दछन्। यसैले बडा दशैँलाई प्रमुख पारिवारिक पुनर्मिलन र सांस्कृतिक सद्भावको पर्वका रूपमा समेत लिने गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार