सोमवार, अशोज २६, २०८३
सोमवार, अशोज २६, २०८३
  • होमपेज
  • समाज
  • गाउँले प्रेमकथामा आधारित हाम्रो त घरै टाढा छ मौलिक गीत सार्वजनिक

गाउँले प्रेमकथामा आधारित हाम्रो त घरै टाढा छ मौलिक गीत सार्वजनिक

  • सोमवार, अशोज २६, २०८३
गाउँले प्रेमकथामा आधारित हाम्रो त घरै टाढा छ मौलिक गीत सार्वजनिक

काठमाडौ —गायक तथा संगीतकार सुरज पण्डित र चर्चित गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा सजिएको मौलिक गाउँले प्रेमकथामा आधारित नयाँ सांगीतिक कोसेली ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक भएको छ ।माया बसेको मन टाढा भए पनि सम्झनामा प्रिय व्यक्ति सधैँ नजिक हुने भावनात्मक पाटोलाई गीतमा समेटिएको छ । भेटघाटको सीमा र मायालुको सानिभलाई कलात्मक ढङ्गले प्रस्तुत गर्दै, प्रिय व्यक्तिको झल्कोमा हराउने र मनभरि उसैको नाम जपजपि गर्ने जस्ता आन्तरिक अनुभूतिहरूलाई गीतले ज्यूँका त्यूँ उज्यागर गरेको छ ।

शहरमा जस्तो सहज भेटघाट हुन नसक्ने गाउँको जीवन, घर–परिवारको दूरी र जीवनका बाध्यताहरूले प्रेमलाई कसरी अझ प्रगाढ बनाउँदै लैजान्छ भन्ने विषयवस्तुलाई गीतको मुख्य आधार बनाइएको छ। स्थानीय लवज, ग्रामीण जीवनशैली र मौलिक लोकसंस्कृतिको सम्मिश्रणले नेपाली गाउँघरको यथार्थ प्रेमकथालाई जीवन्त रूपमा गीतमा झल्काइएको छ ।

कर्णालीको जनजीवन र विकासको सवाल समेटिएको चर्चित गीत ‘रेलको बाटो’ बाट पहिचान बनाएका पण्डित सामाजिक यथार्थ र मौलिक विषयवस्तु उठाउन परिचित छन्। त्यस्तै ‘बोल माया’, ‘गलबन्दी’ र ‘रुकुम मैकोट’ जस्ता चर्चित गीतमार्फत श्रोतामाझ लोकप्रिय गायिका परियार र पण्डितको यस सहकार्यले ग्रामीण प्रेमको मिठासलाई केन्द्रमा राखेको छ।

प्रतिमा अधिकारी र सुरज पण्डितको शब्द रचना रहेको गीतमा सुरजकै संगीत छ। कुशल सिंह निएलको संगीत संयोजन रहेको गीतको समूह गायनमा सुनिता बीके, बिन्दु बीसी र पावेन्द्र सुनारले साथ दिएका छन्। दूरीले भौतिक भेटघाट कठिन बनाए पनि मनको आत्मीयता र प्रेमको गहिराइलाई कमजोर बनाउन सक्दैन भन्ने यस गीतले बलियो सन्देश दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार