काठमाडौ– हिन्दुनारीहरुको महान पर्व हरितालिका तीज पर्व आज देखि औपचारिक रुपमा सुरु भएको छ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाँदै छन् । नेपाली नारीले मनाउने तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाने परम्परा छ ।
माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने गर्छन् । दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध र आडिला परिकार खाइन्छ । गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन् । दर दुई भाग रात बाँकी छँदै खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।
महिलाहरूले वर्षभरिका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रूपमा पनि तीजलाई लिइन्छ । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराईका अनुसार भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बस्नका लागि अघिल्लो दिन बेलुकी दर खाने शास्त्रीय नियम तोकिएको हो ।दर खाएपछि सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज पर्व सम्पन्न गरिन्छ ।